‘आयोगको स्वायत्तता र स्वतन्त्रता कायम रहनु पर्छ’

1.3K

‘आयोगको स्वायत्तता र स्वतन्त्रता कायम रहनु पर्छ’

बुटवल, २४ बैशाख । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मानव अधिकार आयोग राज्यको भर्सेजका रुपमा रहन नहुने भन्दै राज्यकै कम्पोनेन्टका रुपमा काम गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरि भएका आन्दोलनहरुमा आयोग आयोग मौन रहेको भन्दै अनुसन्धानलाई प्रभाव पार्ने गतिबिधिमा साक्षि नबस्न आग्रह गर्नुभयो । बिशेष गरी कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा भएको आन्दोलनमा प्रहरी अनुसन्धान नहुँदा सम्म त्यस्ता आन्दोलन गर्नु जायज छैन भन्ने ढंगले आयोग बोल्नु पथ्र्यो – उहाँले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनिकरण, मानव अधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहीता’ राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले गैर राज्यपक्षबाट भएका गम्भिर मानव अधिकार उल्लंघनमा आयोगले सरकारलाई सहयोग गर्नु पर्दैन ? भनी प्रश्न गर्नुभयो ।

उहाँले महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र संस्कारमा परिवर्तन गर्न नसक्दा सम्म महिला हिंसा अन्त्य गर्न नसकिने भनाई राख्नुभयो । ‘हामीले कानुन निर्माणका माध्यमबाट मात्रै समाधान खोज्ने कुरामा प्राथमिकता दियौं, अन्तर्राष्ट्रिय मान्यताहरुलाई स्थापित गर्दै आयौं ।’ उहाँले भन्नुभयो–‘तरपनि परिणाम त्यति सुखद रहेन ।’ उहाँले हिंसा अन्त्यकालागि समाज, मानवअधिकारका पैरवी गर्ने संस्थाहरु, सरकार पक्षबाट प्रहरी संगठन र न्यायिक क्षेत्र गरी राज्यका ४ वटा कम्पोनेन्टलाई संगसंगै लैजानु पर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगले यस अंगाडी ७७ वटै जिल्लामा मानव अधिकारको अवस्थाका बिषयमा गरेको अन्ययनबाट महिला हिंसा जर्जर अवस्थामा देखिएपछि आयोगले सातवटै प्रदेशका बिभिन्न स्थानमा राष्ट्रिय अभियान सञ्चालन गरेको हो । त्यसै अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सुरक्षा निकायले तहगत जिम्मेवारीलाई व्यवस्थित ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सामाजिक विकासमन्त्री सुदर्शन बरालले सामाजिक मूल्य मान्यता, धर्म र संस्कारका कारण समाज महिलामैत्री बन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा आयोगकी सदस्य मोहना अन्सारीले आयोगको स्वायत्तता र स्वतन्त्रता कायम रहनु पर्ने भनाई राख्नुभयो । उहाँले कुट्नीलाई थुनेर मानव अधिकार सुदृण हुन नसक्ने र कुनै पनि किसिमको हिंसा संविधानले वर्जित गरेकाले कानुनको कार्यान्वयनमा सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो । मावन अधिकार आयोगले सिफारिस गरेका मध्ये करिव १२ प्रतिशत सिफारिस मात्रै कार्यान्वयन भएको भन्दै सरकारले कानुन कार्यान्वयन गर्न नसक्दा महिलाले अनाहकमा ज्यान गुमाउनु परेको उल्लेख गर्नुभयो ।

आयोगले गरेका सिफारिस जवसम्म कार्यान्वयन हुँदैनन् तवसम्म न्याय स्थापित हुन नसक्ने बताउँदै आयोगकी सदस्य अन्सारीले न्याय कमजोर हुँदा राज्य पनि कमजोर हुने दावी गर्नुभयो । उहाँले पिडितकालागि योजना र उनीहरुकालागि रोजगारी दिने कुरामा प्रदेश सरकारले काम गरोस भन्ने आयोगले चाहना राखेको पनि बताउनु भयो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले मानव अधिकार संरक्षण एवं सुरक्षाका सवालमा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । आयोगका प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले ‘महिला मानवअधिकार संरक्षणमा राष्ट्रिय मानवअधिकार आयोगको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।