प्रदेश समन्वय परिषदको बैठक : २० बुँदे निर्णय

1.3K

प्रदेश समन्वय परिषदको बैठक : २० बुँदे निर्णय

बुटवल, ३० बैशाख । प्रदेश पाँच प्रदेश समन्वय परिषदको सोमबार बुटवलमा सम्पन्न दोस्रो बैठकले २० बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश योजना आयोगले बनाएको आवधिक योजनाका आधारमा आगामी वर्षको बजेट बनाउने, बजेट बनाउदा कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिदै पूर्वाधार निर्माण गर्ने नीति लिने र मानबीय स्थिति सुधारका लागि शिक्षा स्वास्थ्य र सुशासनलाई उचित प्राथमिकतामा राख्ने लगायतका निणर्य गरेको हो ।

बैठकमा स्थानीय तहका प्रमुखहरुले संघ र प्रदेश सरकारले संविधानको मर्म विपरित हुनेगरी अधिकारमा नियन्त्रण गरेको बताएका थिए । बढैयाताल गाउँपालिका बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले कानुनको अपव्याख्या गरेर अधिकार संकुचन भएको भन्दै संघीयता कार्यान्वयनमै समस्या उत्पन्न हुनेतर्फ सचेत हुन आग्रह गर्नुभयो ।

घोराही उपमहानगरपालिका दाङका प्रमुख नरुलाल चौधरीले संघीयता कार्यान्वयन गर्नुको सट्टा अधिकार कटौती गर्दै स्थानीय सरकारको अधिकार खुम्च्याइएको बताउनु भयो । धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारबीचमा समन्वय नहुँदा योजना दोहोरिएको भन्दै छलफलबाट समाधान गर्दै संघीयता कार्यान्वयन गर्न सहज हुने उल्लेख गर्नुभयो ।

मदाने गाउँपालिका गुल्मीका दानबहादुर केसीले स्थानीय तहमा विज्ञ र जनशक्ति अभाव भएको भन्दै प्रदेश सरकारले विज्ञ र जनशक्तिका लागि समन्वय गर्न चासो देखाउनुपर्ने बताउनु भयो । छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेलले संविधान, ऐन, कानुनले दिएको अधिकार सरकारले विज्ञप्तिबाट कटौती गरेको भन्दै आपत्ति जनाउनु भयो । रोल्पा परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हितकुमारी बुढा मगरले योजना कार्यान्वयनमा व्यवहारिक कठिनाइ भएको बताउनु भयो ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेशले स्थानीय तहसँग समन्वय गर्दै संघीयता कार्यान्वयन गर्नेतर्फ सहकार्य गर्दै जाने बताउनुभयो ।