तिलोत्तमामा जग्गाको पुनःनापी सुरु

1.3K

तिलोत्तमामा जग्गाको पुनःनापी सुरु

मणिग्राम, ७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गाको पुनः नापी सुरु भएको छ । वडा नम्वर १५ को कोटिहवाबाट जग्गाको पुनःनापी सुरु गरिएको हो । पुनःनापीमा डिजिटल प्रविधि अपनाइएको छ । दुई वर्ष भित्र नगरपालिकाका १७ वडामैं सम्पन्न गर्ने लक्ष्यका साथ पुनः पानी सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजना र जिल्ला नापी कार्यालय रुपन्देहीको सह–आयोजनामा नापीको काम थालिएको हो । नापीको लागि कोटिहवामा छुट्टै कार्यालय स्थापना गरिएको छ । नगरपालिकाले जग्गा पुनःनापीका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीको जग्गा व्यवस्थित र विवादरहित बनाउने उद्देश्यले नापी कार्य सुरु गरिएको बताउँदै नपुग बजेट आगामी आर्थिक वर्षमा व्यवस्था मिलाइने बताउनुभयो । उप–प्रमुख जागेश्वरी चौधरीले न्यायिक समितिमा जग्गा सम्बन्धी विवाद धेरै आउने गरेको बताउँदै पुनः नापीले यस्ता विवाद घटाउने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तिलोत्तमालाई व्यवस्थित, सुन्दर नगर बनाउने परिकल्पनालाई जग्गाको पुनःनापीले सहयोग गर्ने बताउनु भयो । जिल्ला नापी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रमुख नापी अधिकृत अजित कँुवरले राजश्वको उद्देश्यले २०२१ सालमा जञ्जिर र बाँसका घाराले व्यक्तिले जहाँ आफ्नो भन्यो त्यहीँ जग्गा नापी गरिएको भएपनि अहिले विशेष प्रविधिबाट वैज्ञानिक तवर नापजाँच गरिने बताउनुभयो । उहाँले अहिले जग्गा अत्यन्त सुक्ष्म तरिकाले नापिने बताउनुभयो ।