सरकारले आन्दोलनको औपचारिक निम्तो दिएको छ : शाही

1.3K

सरकारले आन्दोलनको औपचारिक निम्तो दिएको छ : शाही

बुटवल, ९ जेठ । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आफूहरुले नचाहँदानचाहँदै पनि सरकारले जवरजस्ती आन्दोलनको निम्तो दिएको बताउनु भएको छ । उहाँले दुई तिहाई बहुमत सरकारले जनपक्षिय काम गरोस भन्ने आम नेपाली जनतासंगै आफूहरुको पनि चाहना भएपनि सरकारले गलत काम गर्नेलाई प्रसय दिने र नराम्रा काममा तल्लिन भएकाले आफूहरु जवरजस्त आन्दोलनमा होमिनु पर्ने स्थिती आएको बताउनु भएको हो ।

नेपाल प्रेस युनियन रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘सरकारले जवरजस्ती आन्दोलनकालागि आह्वान गरेको छ ।’ उहाँले देशमा भ्रष्टाचार बढेको र त्यसको नाईके प्रधानमन्त्री केपी शर्मा ओली नै भएको आरोप लगाउनु भयो ।

उहाँले नेपाली जनताले र प्रतिपक्षि नेपाली काँग्रेसले समेत दुई तिहाइ बहुमत प्राप्त सरकारले राम्रा काम गरोस र रचनात्मक सहयोग गर्न पाईयोस भन्ने आफूहरुको चाहना भएपनि सरकारले महंगी नियन्त्रण गर्न नसकेको, अपराधमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुको साटो प्रसय दिने र संरक्षणमा लागेको, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारवाही गर्ने भन्दा आफैले न्यायधिश बनेर सफाई दिने काम गरेकाले त्यसका बिरुद्ध आन्दोलनमा उत्रिनु परेको बताउनु भयो ।

नेपाली काँग्रेसले पहिलो चरणमा सुरु गरेको राष्ट्रिय जागरण अभियानमा तरुण दललाई मुलुकमा भईरहेका भ्रष्टाचार भण्डाफोरको जिम्मेवारी दिएको छ । देशव्यापी रुपमा तरुणदलले आयोजना गरेका ती कार्यक्रममा सहभागि हुन देश दौडाहामा रहनु भएको महासचिव शाहीले भ्रष्टाचारमा जो व्यक्ति संलग्न भएपनि कारवाही हुनु पर्ने बताउनु भयो । उहाँले राष्ट्रिय जागरण अभियान सकारात्मक भएपनि तरुण दल र नेबिसंघको खुट्टा बाधेर अभियान सफल हुन नसक्ने बताउँदै पार्टीमा भएको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको धारणा राख्नुभयो ।

अहिले सरकारले देशकालागि भन्दा पनि व्यक्तिगत स्वार्थ र पार्टीगत स्वाथ सहित अंगाडी बढेको बताउँदै सरकारको यस्तो रवैयाले आफैले लिएको समृद्ध नेपाल, खुसी जनताको नारा सार्थक हुन नसक्ने बताउँदै सहि बाटोमा हिंड्न पनि आग्रह गर्नुभयो । ढुंगा मुढाबाट गरिएको आन्दोलनलाई मात्र देख्ने सरकारले शन्तिपूर्ण कदमलाई सम्बोधन नगरे पार्टी तथा तरुणदल सडकमा टायर बाल्न पनि पछि नहट्ने उहाँले बताउनु भयो । उहाँले पार्टीमा जस्तो तरुण दलमा गुट उपगुटको समस्या नभएपनि पार्टीले नै मनोनित गर्ने भएकाले तरुण दलले पूर्णता पाउन नसकेको बताउनु भयो ।