
बुटवल, १६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्युएए) प्रदान गरेको हो । विश्व बिद्यालय अनुदान आयोगले गरेको गुणस्तर निर्धारण मापदण्डका आधारमा यहि जेठको १२ गते सो क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्रदान गरेको हो ।
यससंगै रुपन्देही जिल्लामा विश्वबिद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्रदान गर्ने क्याम्पसको संख्या ४ पुगेको छ । विश्वबिद्यालय अनुदान आयोगले रुपन्देहीका सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, भैरहवाको रुपन्देही क्याम्पस र राममणी सहित मुलुकभर ३३ वटा क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रमाण पत्र प्रदान गरेको छ ।
क्याम्पसको गुणस्तर सुनिश्तिताकालागि विश्वबिद्यालय अनुदान आयोगले क्याम्पसको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, बिद्यार्थी तथा अभिभावकको क्याम्पस प्रतिको दृष्टिकोण लगायतका विषयमा १२१ प्रश्नको आफै मुल्यांकन गर्ने पद्धती अवलम्बन गरेको छ । त्यसैका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चिता प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले बताउनु भयो ।
विश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेपछि राममणी क्याम्पसले बिहिबार तिलोत्तमा नगरपालिकामा मोटरेवल ¥याली प्रदर्शन गर्नुका साथै पत्रकार सम्मेलन गरि यससम्बन्धि जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पसको भौतिक पूर्वाधारको अवस्था, सञ्चालित शैक्षिक कार्यक्रमहरु र भावि योजनाका बारेमा समेत जानकारी गराउनु भएको थियो ।
क्युएए प्राप्त गर्नुभनेको क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गरेको छ भन्ने प्रमाणपत्र हो । बिद्यालर्थीले गुणस्तरीय शिक्षा प्राप्त त गर्ने नै भए नेपालबाट अध्ययनकालागि बिदेश जाँदा यहाँ अध्ययन गरेको तह भन्दा एक तह तलबाट अध्ययन गर्नुपर्ने हुन्छ । तर क्युएए प्राप्त कलेमा अध्ययन गरेका बिद्यार्थीले प्राप्त प्रमाणपत्र अनुसार रेगुलर अध्ययन गर्न पाउने भएकाले त्यसमा समेत बिद्यार्थीलाई फाईदा हुने अध्यक्ष पाठकले बताउनु भयो ।
क्युएए प्राप्त गरेसंगै क्याम्पसलाई पास प्रतिशत बढाउनु पर्ने भने चुनौती थपिएको छ । क्युएए प्रत्येक वर्ष पुनरावलोकन हुने भएकाले गुणस्तर खस्केको खण्डमा खारेज समेत हुन सक्ने भएकाले क्याम्पसको गुणस्तर कायम गर्न कुनै कञ्जुस्याईँ नगर्ने अध्यक्ष पाठक बताउनु हुन्छ ।
उक्त क्याम्पसमा हाल स्नातकोत्तर तहमा व्यबस्थापन तर्फ एम.बि.ए, मानविकि तथा समाजिकशास्त्र तर्फ एम.ए र मानवशास्त्र, स्नातक तहमा व्यबस्थापन तर्फ चार वर्षे बिबिएस, मानविकि तथा समाजिक शास्त्र तर्फ अंग्रेजी, नेपाली, अर्थशास्त्र, गणित समाजशास्त्र, राजनीतिशास्त्र, शिक्षा तर्फ चार वर्षे र एक वर्षे बिएड अध्ययन अध्यापन हुँदै आएको छ । त्यस्तै बिद्यालय तहमा दशजोड दुईमा बिज्ञान व्यबस्थापन शिक्षा र मानविकीको पठनपाठन हुँदै आएको क्याम्पस प्रमुख शर्माले जानकारी गराउनु भयो । उहाँले क्याम्पसलाई संस्थागत स्वायत्तता हुँदै ‘मानित विश्वबिद्यालय’ (डिम्ड युनिभर्सिटी) तर्फ लैजानकालागि तयारी आरम्भ गरेको समेत जानकारी गराउनु भयो ।