
बुटवल, १७ जेठ । नेकपा–माओवादीका महासचिव मोहन बैद्य किरणले सरकारले ल्याएको बजेटले आफैले अंगाडी सारेको ‘समृद्ध मुलुक सुखी जनता’ को लक्ष्यमा पु¥याउन नसक्ने बताउनु भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि उहाँले बजेट उत्पादनमुखी हुनु पर्नेमा वितरण मुखी भएको बताउँदै वितरणमुखी बजेटले समृद्धिको गन्तव्यमा पुग्न नसकिने बताउनु भएको हो । उहाँले भन्नुभयो–‘सरकार आफैले लगाएको समृद्ध मुलुक सुखी नेपाली नारालाई बजेटले बेकारको बनाईदिएको छ ।’
मुलुकको व्यापार घाटा झण्डै सिंगो मुलुकको बजेट बराबर रहेको बताउँदै पार्टी महासचिव बैद्यले यस्तो चुनौती सहितको बजेटले पनि उत्पादनलाई भन्दा वितरणलाई प्राथमिकता दिईनु राम्रो नभएको बताउनु भयो । फरक प्रसंगमा उहाँले स्वयम सरकार गलत क्रियाकलापमा उद्धत रहेको र मिडियाले कुरा उठाउन नपाओस भनेर मिडियालाई बाँध्नकै लागि मिडिया काउन्सील बिधेयक ल्याएको आरोप लगाउनु भयो । उहाँले सत्ताको स्वामित्व जमाउने गरी मिडिया काउन्सील बिधेयक ल्याएको र दण्डजरीवाना पनि अस्वभाविक तोकेकाले सरकारको यो कदम पनि गलत भएको उल्लेख गर्नुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुस लगाउन नपाईने उहाँको भनाई थियो ।
कम्युनिष्ट नामको सरकारले कम्युनिष्टलाई नै बदनाम गर्ने गरी क्रियाकपाल गरेको उल्लेख गर्दै महासचिव बैद्यले यो सरकार फासिबादतर्फ उद्धत भएको आरोप लगाउनु भयो । सुन काण्ड, निर्मला पन्त बलात्कार तथा हत्या काण्ड, वाईडबडी जहाज तथा एनसेललाई कर तिराउने लगायतका काण्डमा सरकारमा रहेका व्यक्तिहरु स्वयम् संलग्न रहेकाले त्यस्ता अपराध कर्ममा रहेका व्यक्तिलाई सरकारले बाहिर ल्याउन नसकेको उहाँले आरोप लगाउनु भयो ।
बिभिन्न पार्टी तथा समुहसंग पार्टी एकताकालागि आधार तय गर्ने प्रयास हुँदै आएको भएपनि अहिले तत्कालै कसैसंग पार्टी एकता गर्ने आधार तयार नभईसकेको उहाँले प्रष्ट्याउनु भयो ।