मृगौला पिडित गौतमको उपचारमा रोटरीको सहयोग

1.3K

मृगौला पिडित गौतमको उपचारमा रोटरीको सहयोग

बुटवल, २५ जेठ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मृगौला पिडतको उपचारकालागि आर्थिक सहायता प्रदान गरेको छ । दुबै मृगौला फेल भएपछि विगत ८ वर्षदेखि डाईलाईसिस गर्दै आउनु भएका तिलोत्तमा नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीय जयलाल गौतमलाई क्लवले उपचारकालागि ४० हजार रुपैंया सहयोग प्रदान गरेको हो ।

क्लवको नियमित बैठकमा शनिबार क्लवका अध्यक्ष ओमप्रसाद अर्यालले मृगौला पिडित गौतमलाई ४० हजार रुपैंयाको चेक हस्तान्त्रण गर्नुभएको हो । मृगौला पिडित गौतमले हाल गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौला डाईलाईसिस भईरहेको बताउनु भयो । उहाँले क्लवले आफूलाई सहयोग गरेकामा आभार व्यक्त गर्दै आफूसंग भएको सबै पैसा हालसम्म उपचार गर्दा सकिएकाले थप उपचारकालागि सबैसंग आर्थिक सहायताकालागि याचना समेत गर्नुभयो ।

गुल्मीको पौदी अमराईबाट रुपन्देही बसाईसराई गर्नुभएका मृगौला पिडित गौतमको उपचारमा आर्थिक सहायता प्रदान गर्न चाहनेले हिमालयन बैंकमा रहेको उहाँकै खाता नं. ०१७०५८६८६९००१९ मा पैसा राखिदिन समेत आग्रह गर्नुभएको छ ।

सोही बैठकमा क्लवका अध्यक्ष ओमप्रसाद अर्यालले स्वर्गीय आमा डम्बरकुमारी अर्यालको स्मृतिमा ५० हजार रुपैंयाको ‘थाईरोईड क्यान्सर पिडितकालागि आर्थिक सहयोग अक्षयकोष’ स्थापनाको घोषणा गर्नुभएको छ । उक्त कोषमा निरन्तर रकम बृद्धि गर्दै लैलाने र त्यसको व्याजबाट थाईरोईड क्यान्सर पिडित भएका गरिव तथा विपन्न व्यक्तिको उपचारमा सहायता प्रदान गरिने उहाँले बताउनु भयो । थाईरोईड क्यान्सर पिडित डम्बरकुमारीको गत फागुन २१ गते उपचारकै क्रममा निधन भएको थियो ।

त्यस अवसरमा क्लवका सदस्य तथा अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेतीले बालबालिकामा हुने अटिजम समस्याका बारेमा जानकारी गराउनु भएको थियो । अटिजम बालबालिकामा जन्मजात हुने मानसिक अपांगताको अवस्था हो । यसको २–३ वर्ष भित्रै पत्ता नलगाउने र उपचार नहुने हो भने पछि उपचार सम्भव नभएकाले आफ्ना बालबालिकाको समयमै राख्रो ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै क्लवका सदस्य तथा चार्टर एकाउन्टेन्ट बालकृष्ण पाण्डेले सरकारले हालै ल्याएको नयाँ बजेटमा व्यबस्था भएको कर सम्बन्धि जानकारी गराउनु भएको थियो ।