‘प्रधानमन्त्री केपी ओलीको दिनगन्ती सुरु भयो’

1.3K

‘प्रधानमन्त्री केपी ओलीको दिनगन्ती सुरु भयो’

भैरहवा, २५ जेठ । नेपाली काँग्रेसले सुरु गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सकिएको छ । नेपाली काँग्रेसले पहिलो चरणमा बैशाख २५ देखि जिल्ला स्तरमा एक महिने जागरण अभियान सञ्चालन गरेको थियो । ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेसले मुलुकका ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनीधि तथा प्रदेश पाँच सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री केपी ओली यहि तरिकाले चले वालुवाटारमा धेरै दिन टिक्न नसक्ने चेतावनी दिनुभयो । उहाले अहिलेको सरकारमा रहेका मन्त्रीहरु जनताको सेवामा नभई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै खेतीको संघारमा रहेका किसानलाई मल बिउको समस्या भएको र त्यसतर्फ चाडो बिउ मल आपूर्तिको व्यबस्था मिलाउन आग्रह गर्नुभयो ।

उहाँले जनताबाट चर्को कर उठाएर भ्रष्टाचार गर्नेलाई काँग्रेसले सत्तामा बस्न नदिने बताउदै प्रेसलाई निमोठ्ने, नियन्त्रण गर्न खोज्ने सरकार विरुद्ध आन्दोलनको विकल्प नरहेको उल्लेख गर्नुभयो । सुकुम्बासीको नाममा राजनीति गरेर बालुवाटारको जग्गा किन्ने र भ्रष्टाचार गर्ने दुस्हास गर्ने विष्णु पौडेलको दुर्दशा रुपन्देहीबाट सुरु भएको उहाँले बताउनु भयो ।

समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले सरकारले लोकतन्त्र, संविधान, संघीयता, जनताको सार्वभौम सत्ता नमानेको आरोप लगाउनु भयो । लोकतन्त्र तथा संविधान विरोध गतिविधि गरेर सरकार अधिनायकवाद तर्फ उन्मुख भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, क्षेत्रीय सभापति मात्रिकाप्रसाद यादव, नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाही, जिल्ला सचिव रामकृष्ण खाँण लगायतले बोल्दै वर्तमान सरकारले जनतालाई शान्ति, सुरक्षा र विकासको अनुभुति दिन नसकेको बताउनु भयो ।