प्रदेश पाँचको बिशेष समितिको म्याद पुनः ६ महिना थप

1.3K

प्रदेश पाँचको बिशेष समितिको म्याद पुनः ६ महिना थप

बुटवल, ३० जेठ । प्रदेश सभाको विहिवार वसेको बैठकले प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठन गरिएको विशेष समितिको म्याद ६ महिना थप गरेको छ । विशेष समितिको म्याद थप भएसंगै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने काम अझै ६ महिना पछि धकेलिएको छ । यही जेठ २६ गते विशेष समितिले प्रदेश सभामा राजधानी र नामको विषय सिफारिस गर्नुपर्नेमा काम गर्न नसकेको भन्दै समितिले नै म्याद थपका लागि अनुरोध गरेको थियो ।

प्रदेश सभाको बैठकमा सभामुख पूर्णवहादुर घर्तीले विशेष समितिको म्याद ६ महिना थप्ने विषयमा सहमति जनाउन राख्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सभाको गत वर्ष साउन १५ गते वसेको वैठकले प्रदेशको राजधानी र नाम सिफारिस गर्न १५ सदस्यीय विशेष समिति गठन गरेको थियो । त्यसयता समितिको म्याद तीनपटक थप भैसकेको छ भने तीन महिनाअघि मात्र प्रदेशका १२ वटै जिल्लामा समितिले जनताको सुझाव माग्न फारम भरेर सुझाव मागेको थियो ।

त्यसअघि प्रदेश सभाको विहिवारकै वैठकमा विशेष समय लिएर बोल्दै प्रदेश सभाका सभासदहरुले खेतीपातीको समय आएकोले रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भएकोले समयमै मलखाद उपलव्ध गराउन माग गरेका छन । नेपाली कांग्रेसका सांसद डिल्लीवहादुर चौधरीले रोपाई गर्ने समय आएको भन्दै सिंचाईका लागि पानीको व्यवस्था गर्न, मलखाद सरलरुपमा गाउँगाउँसम्म वितरण गर्न माग गर्नुभयो ।

त्यसैगरी सांसदहरु दिनेश पन्थी, तुलसी चौधरी, बैजनाथ कलवार, अष्टभुजा पाठक, चेतनारायण आचार्य लगायतले बोल्दै प्रदेशको बजेट सहमतिमै ल्याउन र बजेटमा सांसदहरुले उठाएका माग सम्वोधन गर्न आग्रह गर्नुभएको थियो ।