बुटवल १ का डोजर पिडित : घरबास व्यबस्थाको माग गर्दै अनसन

1.3K

बुटवल १ का डोजर पिडित : घरबास व्यबस्थाको माग गर्दै अनसन

बुटवल, ३२ जेठ । बुटवल उपमहानगरपालिकाले वडा नं. १ मा डोजर लगाएर घरबार बिहिन बनाएको र उचित व्यबस्थापनको माग सहित त्यसका पिडितहरुले अनशन सुरु गरेका छन् । बुटवल उपमहानगरपालिकाले वडा नं. १ को जामे मस्जिद अंगाडी श्री ३ बडामहारानीको नाममा रहेको जग्गामा विगत ४८ वर्षदेखि वस्दै आएका १६ परिवारको बस्तीमा बिहिबार डोजर लगाएको थियो ।

आफूहरुलाई नगरपालिकाले घरबार बिहिन बनाएको भन्दै शनिबारदेखि उचित व्यबस्थापनको माग सहित अनशन सुरु गरेका हुन् । नगरपालिकाका जनप्रतीनिधी, कर्मचारी, प्रहरी, नगरप्रहरीको उपस्थितीमा उक्त बस्तीमा डोजर चलाउँदा रुवाबासी मच्चिएको थियो । बुटवल उपमहानगरपालिका वडा नंं. १ स्थित साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि आफूहरु बस्दै आएको भन्दै १६ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपूर्जां) दिन माग गरेका थिए । नगरपालिकाले वैकल्पिक व्यवस्था गर्न माग गदै पीडित परिवारले अनशन शुरु गरेको संघर्ष समितिका संयोजक हरि विश्वकर्माले बताउनुभयो ।

उपमहानगरले गत बैशाख २५ गते ३५ दिने सूचना टांस गरी जग्गा खाली गर्न भनेपछि उनीहरुले वर्षौंदेखि बसोबास गरेका आधारमा सोही ठाउंमा बस्न पाउनुपर्ने र सरकारले लालपुर्जा दिनुपर्ने माग अघि सारेका थिए । विहिवार नगरपालिकाले सुचना जारी गरेको ३६ औ दिन पुगेको र उक्त जग्गामा वसेकाले खाली नगरेकाले डोजर लगाउनु परेको वडा अध्यक्ष महेन्द्र लिगले बताउनु भएको छ ।