जनअपेक्षा अनुसार बिकास गरेरै छाड्छौं : मन्त्री ज्ञवाली

1.3K

जनअपेक्षा अनुसार बिकास गरेरै छाड्छौं : मन्त्री ज्ञवाली

बुटवल, २७ भदौ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जनताको समर्थन र विश्वासले वनेको दुई तिहाई बहुमतको केपी ओली नेतृत्वको सरकारले जनताले आशा र अपेक्षा गरेको विकासको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले विपक्षीहरूले जनतामा जति नै नकारात्मक भ्रम छरे पनि नेपाल अहिले सही दिशा र बाटोमा अघि बढेको बताउँदै विकासशील देशबाट विकासोन्मुख देशमा स्तरोन्नती भएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो– ‘सवैतिरबाट सरकारले केही गरेन भन्ने भ्रम छरेर धमिलो पानीमा माछा मार्ने प्रयास भैरहेको छ तर पनि नेकपा नेतृृत्वको सरकारले गर्ने काम अरु कुनै दलको नेतृत्वले गर्न सक्दैन ।’
उहाँले जनताको चाहना र सरकारको डेलीभरीका वीचमा ग्याप छ भन्दै त्यसलाई कम गर्ने प्रयासमा सरकार लागिपरेको छ भन्नुभयो । मन्त्री ज्ञवालीले संसारका दुई ठूलो जनसंख्या, विकास र बजार भएका मुलुकका वीचमा नेपाल रहनु अवसर भएको बताउँदै नेपाल दुवैसंग जोडिएर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । छिमेक सम्वन्ध अहिले सुमधूर भएको भन्दै मन्त्री ज्ञवालीले पेट्रोलियम पाइपलाईन त्यसको उदाहरण भएको बताउनु भयो ।
उहाँले नेपाल र भारतवीचको सम्वन्ध सुमधुर भएको भन्दै आगामी दिनमा समेत यो सम्वन्ध अझै नयाँ आयाममा विस्तार हुने बताउनु भयो । भारत र चीन नेपालका बलियो साझेदार मुलुक भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले ती दुई मुलुकको विकासको लयसंग नेपालको लय कसरी मिलाउन सकिन्छ भन्ने विषयमा अव सोच्नु जरूरी छ भन्नुभयो ।
आगामी दिनमा पनि यी दुई मुलुकसंग छिमेक सम्वन्ध राम्रो र बलियो बनाउन ती दुई मुलुकसंग सहकार्य गरेरै अघि बढ्ने नेपालको नीति रहने उल्लेख गर्नुभयो । उहाँले नेपालको नीति भनेको नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर छिमेक सम्वन्धलाई बलियो बनाउने आधार तयार गर्ने हो भन्दै अहिले नेपालप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालको बैदेशिक रोजगार प्राथमिकतामा नरहेपनि केही वर्षसम्म नेपालमा प्रशस्त रोजगारीका संभावना नभएसम्म त्यो जारी रहने भएको उल्लेख गर्दै हालै मलेसियासंग भएको समझदारीले अव नेपाली युवाहरू शून्य लगानीमा त्यो देशमा रोजगारीका लागि जान सक्ने बाताबरण नेपाल सरकारले तयार गरेको बताउनु भयो ।
पत्रकारहरूको जिज्ञासाको जवाफ दिदै मन्त्री ज्ञवालीले आउने पुस्ताले अव नाकाबन्दीको सामना कहिल्यै गर्न नपर्नेगरी सरकारले भारत सम्वन्धलाई नयाँ उचाईमा सदृढ गरेको बताउनु भयो । नेपाल भारत सिमा क्षेत्रमा रहेका पिल्लरहरू अव्यवस्थित रहेकोले ती पिल्लरहरू दुई देशवीचको सहमति र सहकार्यमा व्यवस्थित वनाउने काम भैरहेको मन्त्री ज्ञवालीले बताउनु भयो ।