बुटवल, २९ भदौ । प्रदेश पाँच सरकारले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गर्दै संविधान दिवस मनाउनकालागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्यीय मुल समिति गठन गरेको छ । संविधान जारी भएको मिति असोज ३ गतेलाई लक्षित गरेर प्रदेश पाँच सरकारले तीन दिवसीय रुपमा संविधान दिवस मनाउने तयारी गरेको हो । दिवसका अवसरमा तीनसम्म साँझ प्रदेशका सरकारकारी कार्यालयहरुमा दीपावली गरिने छ ।
संविधान दिवसको पूर्व सन्ध्यामा असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुको राष्ट्रिय झण्डा फर्ने, सामाजिक बिकास मन्त्रालयको संयोजनमा संविधान दिवससंग सम्बन्धित कबिता वा गजल बाचन प्रतियोगिता गर्ने, प्रदेश राजधानीका मुख्य चोकहरुमा तीन दिनसम्म राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले तीन दिवसीय कार्यक्रमको पहिलो दिन प्रदेश राजधानीका मुख्यचोकहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयो । त्यस्तै प्रदेशका स्थानीय तहहरुले मन्त्रालय तथा सुरक्षा निकायहरुको समन्वयमा आ–आफ्नो स्थानीय तहमा सरसफाई कार्यक्रम आयोजना गर्ने र सरसफाई कार्यक्रमलाई डेंगु रोग बिरुद्धको सचेतना अभियानको रुपमा लैजान सामाजिक बिकास मन्त्रालयले पहल गर्ने उहाँले जानकारी गराउनु भयो ।
संविधान जारी भएको दिन असोज ३ गते कला संस्कृति झल्किने भेषभुसा सहितको झाँकी प्रदर्शन तथा आम सभा गरिने छ । बुटवलको राजमार्गबाट झाँकी प्रदर्शन सहित प्रदर्शनी स्थलमा गएर आम सभा गर्ने बताईएको छ ।
तीन दिवसीय कार्यक्रमको अन्तिम दिन सामाजिक बिकास मन्त्रालयले बुटवल र भैरहवामा रक्तदान कार्यक्रम गर्ने र त्यसको प्राबिधिक व्यबस्थापनकालागि नेपाल रेडक्रस सोशाईटीलाई अनुरोध गरिने सचिव खरेलले बताउनु भयो । त्यस्तै भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको व्यबस्थापनमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । साँझ प्रदेशका सबै सरकारी कार्यालयहरुमा दीपावली गरि संविधान दिवसको बिशेष कार्यक्रम समापन गरिने सचिव खरेलले बताउनु भयो ।
प्रदेश सरकारले प्रदेश स्थापना दिवस, संविधान दिवस, गणतन्त्र दिवस र माघि पर्व मनाउनकालागि २० लाख रुपैंया बजेट विनियोजन गरेको छ भने प्रदेश राजधानी रहेको बुटवल उपमहानगरपालिकाले संविधान दिवसकालागि सवालाख रुपैंया बजेट विनियोजन गरेको बुटवल उपमहानगरपालिकाका प्रशासकीय प्रमुख चक्रपाणी शर्माले बताउनु भयो ।
