प्रदेश पाँच : प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश

1.3K

प्रदेश पाँच : प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश

बुटवल, ३० भदौ । प्रदेश पाँचको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०७४ मा दोश्रो संशोधनका लागि स्वीकृति प्रदान गरेको छ । त्यसैगरी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक, सुविधा र सेवाका सर्तसम्वन्धमा व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्वन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेश पाँच मन्त्रिपरिषदको आईतबार भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार बिकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले यो निर्णयपछि अव प्रदेश योजना आयोगको सचिवालयलाई सिधै बजेट जाने बताउनु भयो । यसअघि प्रदेश योजना आयोगलाई मन्त्रिपरिषद कार्यालय मार्फत जनशक्ति व्यबस्थापन तथा बजेट जाने गरेको थियो ।
मन्त्री चौधरीले प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक र सुविधा पनि अव ऐनमै तोकिए बमोजिम हुने गरी विधेयक तर्जुमा गर्न लागिएको जानकारी दिनुभयो । ऐन बनाउन सरकारले स्वीकृति प्रदान गरेको र प्रदेश सभाले पारित गरेपछि लागू हुने पनि मन्त्री चौधरीले बताउनु भयो ।