स्पाईनल सर्जरीमा बिद्याबारिधी गर्नुभएका हाड जोनी तथा नसा रोग बिशेषज्ञ डा. सन्तोषकुमार बस्याल ‘४० औं विद्याभूषण बिशिष्ट (क)’ बाट सम्मानित हुनु भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसमा प्रदान गरिने यो पुरस्कार प्राप्त गर्ने स्पाईनल सर्जरीमा बिद्या बारिधि गरेका उहाँ एक्ला हुनुहुन्छ । एमबिबिएस, एमडी, पिएचडी, हासिल गर्नुभएका डा. बस्याल लुम्बिनी विश्वबिद्यालयबाट बुद्धिजममा समेत पिएचडी हासिल गर्नुभएको छ । उहाँले विश्वकै पहिलो बिश्वबिद्यालय युएसएबाट सम्बन्धन प्राप्त जापानको ‘ओ.आई.एस.टी. रिसर्च बिश्वबिद्यालय’बाट बैज्ञानिक बिषयमा स्कलरशिपमा बैज्ञानिक बिषयमा डिग्रि समेत हासिल गरिसक्नुभएको छ । उहाँले लेखेका मेरुदण्ड, हाडजोर्नी, बाथ, नसा तथा मांसपेशी सम्बन्धि लेखहरु समेत प्रकासित भएका छन् ।
अन्तर्राष्ट्रिय संस्था नर्थ अमेरिकन स्पाईनल सोशाईटी (एन.ए.एस.एस.)मा भ्यालु तथा इन्भेष्टमेन्ट कमिटिमा सदस्य समेत रहनु भएका डा. बस्याल जापान, मलेसीया, क्यानडामा आफूले गरेको रिसर्च प्रिजेन्टेसन गरिसक्नु भएको छ भने आगामी बर्ष नयाँ रिसर्च प्रिजेन्टेसनकालागि ब्राजिल जाँदै हुनुहुन्छ । ‘डाक्टर सान्ट सान रिसर्च फाउन्डेसन नेपाल’ले रिसर्चको क्षेत्रमा काम गर्न शुरु गरेको छ । यसका मुख्य फाउण्डर समेत रहनुभएका डा. बस्यालसंग गरिएको संक्षिप्त कुरानकानी ।
डाक्टर सान्ट सान रिसर्च फाउन्डेसन नेपालले खास के काम गर्ने गर्छ ?
– नेपालमा हुने मेरुदण्ड, हाडजोर्नी, नसाहरुको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने र यसका दीर्घायु बिरामीहरुको हाड तथा मेरुदण्डलाई बुढो हुन नदिन हाड जोर्नीहरुको कसरी पुनर्जागरण गर्न सकिन्छ भन्ने कुराहरुको अनुसन्धान गर्नकालागि यो संस्था स्थापना भएको हो । यो संस्थामा युवा डाक्टरहरु धेरै छन् । यसमा चिन, अमेरिका, क्यानडा, जापान लगायतका देशका डाक्टरहरुले समेत सहयोग गर्नेछन् ।
अहिले आएर यस बिषयमा अनुसन्धान गर्नु पर्नाका कारण के हो ?
– नेपालमा पुरानो बिधी र पद्धतीबाट उपचार हुँदै आएको छ । यहाँ बिदेशमा भएका अनुसन्धानको आधारमा उपचार गर्ने गरिन्छ । भौगोलिक अवस्था, खानपिन, सोंचाई, धार्मिक परम्परा, सहनसहनका कारण उपचार पद्धतीमा फरक पर्ने भएकाले यसको बस्तुगत अध्ययनकालागि अनुसन्धान गर्नुपरेको हो । यहाँ ‘बाथ’को समस्या धेरै छ । अहिले पनि यहाँ बिदेशमा भएको रिसर्च पद्धती अनुसार उपचार हुँदै आएको छ । बिदेशमा भएको अनुसन्धान र हाम्रो हावापानी अनुसार गरेको अनुसन्धानले उपचार पद्धतीमा पनि फरक पर्न सक्छ ।
यो अनुसन्धान के कुरामा केन्द्रित हुने छ र कति समय लाग्ला ?
– प्रदेश पाँचमा हाडजोर्नी तथा मेरुदण्डका बिरामी धेरै छन् । त्यसमध्ये पनि मेरुदण्ड खिईएको समस्या त्यसको करिव ३० प्रतिशत छ । मेरुदण्ड खिईएकोलाई कसरी बचाउने भन्ने कुरामा हाम्रो अनुसन्धान केन्द्रित हुने छ । ‘ओष्ट्योपोरोसिस्’, ‘ओष्ट्योअर्थोराईटिस्’ र ‘रिमाटिकअर्थोराईटिस्’ (क्रमशः उमेरसंगै हड्डी खिईँदै जाने, उमेर तथा मोटोपनाका कारण जोर्नी सुन्नीँदै जाने र जन्मजात नै जोर्नी सुन्नीँने तर समस्या पछि देखिने)को समस्या बढी छ । अहिले यी समस्याको हामीले बिदेशमा भएको रिसर्चका आधारमा उपचार गर्ने गरेका छौं । यसको नेपाली हावापानी अनुसार अध्ययन अनुसन्धान गर्ने छौं । यसको अनुसन्धान गर्नकालागि हामीले ५ वर्षको प्लान गरेका छौं । करिव २ वर्षमा यसको केही रिजल्ट पनि आउन सक्छ ।
अनुसन्धानकालागि आर्थिक व्यबस्थापन कसरी मिलाउनु भएको छ ?
– यसकालागि हामीले स्वास्थ्य विभागमा प्रपोजल गरेका छौं । अन्तर्राष्ट्रिय स्तरबाट हुने सहयोगकालागि पनि प्रपोजल गरेका छौं । यसको रिजल्ट अन्तर्राष्ट्रिय स्तरमा पनि प्रभाव पार्ने छ, त्यसैले पनि अन्तर्राष्ट्रिय संस्थाहरुले पनि चासो देखाएका छन् । त्यस्तै हामी अफै पनि पकेटबाट पनि गर्न सक्छौं । पब्लिक सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
