प्रदेश स्तरीय समिति गठन नहुँदा बजार अनुगमनमा समस्या

1.3K

प्रदेश स्तरीय समिति गठन नहुँदा बजार अनुगमनमा समस्या

बुटवल, ८ असोज । चाड पर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरुले औल्याएका छन् । चाडपर्व नजिकिंदै गर्दा विभिन्न क्षेत्रका व्यवसायीबाट उपभोक्ता ठगिने गरेको उनीहरुले स्वीकार समेत गरेका छन् ।
रिपोर्टर्स क्लवले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरोकारवाला कार्यालयका प्रमुख तथा अध्यक्षहरुले बजार अनुगमन प्रभावकारी बन्न नसकेको औल्याएका थिए ।
दैनिक उपभोग्य वस्तु विक्रिवितरण गर्ने व्यवसायी, यातायात र होटल व्यवसायीबाट उपभोक्ता सबैभन्दा बढी ठगिने गरेको उनिहरुले बताए । गुणस्तरीय सेवा र खाद्यान्न पाउने अधिकारबाट उपभोक्तालाई बन्चित गराउन नहुने र त्यसका लागि उचित अनुगमन गरी गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत विष्णु ज्ञवालीले उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन र भएनभएको अनुगमनकालागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरोकारवाला कार्यालयहरुलाई ताकेदा गरिरहेको बताउनु भयो ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका निमित्त प्रमुख रुद्र ज्ञवालीले उपभोक्ता संरक्षण ऐनमा व्यबस्था भए अनुसार प्रदेश तथा स्थानीय तहमा अनुगमन समिति गठन गर्नु पर्ने भएपनि हुन नसकेको र नियमावली पनि नआएका कारण वजार अनुगमनमा समस्या भएको बताउनु भयो । यद्यपी उहाँले आफनो तहवाट अनुगमनका काम गर्ने प्रयास गरिएपनि जनशक्ति अभावका कारण प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।
प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक रामप्रकाश शाहले ट्राफिक प्रहरीले स्थानीय प्रशासन, सरकार र सरोकारवाला निकायसंग मिलेर उपभोक्ताको हितमा काम गरिरहेको बताउनु भयो । चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गलत कामलाई रोक्ने र चेकजांचलाई पारदर्शी बनाईने उहाँले जानकारी गराउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उपभोक्ताको हितमा गलत गर्ने जुनकुनै व्यवसायीलाई कारवाहीका लागि उद्योग वाणिज्य संघले प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै अनुगमन गर्ने क्रममा व्यबसायिक संस्थालाई पनि संगै लैजान आग्रह गर्दै एकोहोरो हुने अनुगमन शंकास्पद हने उहाँले उल्लेख गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठकले बजार अनुगमनलाई निरन्तरता दिएर उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउनु पर्ने बताउनु भयो । बजार अनुगमन नहुंदा गुणस्तरहिन सामान विक्री गर्नेहरुलाई सहज भएको उहाँको भनाई थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले बजार अनुगमनमा प्रशासनले चासो नदिएको धारणा राख्नु भयो । उहाँले बजार अनुगमन नहुंदा उपभोक्ताले आधारभूत अधिकारबाट बञ्चित भएको उल्लेख गर्दै काुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।