बुटवल, १४ असोज । सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनु भएको हो । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबार स्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामा पत्रमा उहाँले भन्नुभएको छ, “हिजो (सोमबार)देखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो । यद्यपी महराले सांसद पदबाट भने राजिनामा गर्नुभएको छैन ।
सभामुख महराको राजिनामालाई लिएर नेपाली काँग्रेसले असन्तुष्टि जनाएको छ । महराले उपसभामुखलाई बुझाएको राजिनामा सर्तसहित हुनुले कार्यवाहक दिएको हो या राजिनामा बुझाएको हो प्रष्ट नभएको औंल्याएको हो । नेपाली काँग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि सर्त सहितको राजिनामा प्रति आपत्ति समेत प्रकट गरेको छ ।

