बुटवल, २७ असोज । रुपन्देही उद्योग संघको आसन्न अधिवेशनकालागि अध्यक्ष पदमा एकल उम्मेद्वारी पर्ने सम्भावना देखिएको छ । बाम गठबन्धनबाट अध्यक्ष पदमा कम्युनिष्ट धारबाट मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले उम्मेदवारी घोषणा गरेपनि प्रजातान्त्रिक धारबाट खासै आकांक्षा देखिएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा पनि एकल उम्मेदवारी पर्ने सम्भावना छ । वरिष्ठ उपाध्यक्ष पदमा माधव पौडेलले उम्मेद्वारी घोषणा गर्नुभएको छ भने प्रथम उपाध्यक्षमा कम्युनिष्ट धारबाट दिलिप सापकोटा र प्रजातान्त्रिक धारबाट साबित्रा टण्डनको आकांक्षा देखिएको छ । त्यस्तै द्वितीय उपाध्यक्षमा कम्युनिष्ट धारबाट कृष्ण पराजुलीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यसभन्दा तलका पदमा भने कम्युनिष्ट र प्रजातान्त्रिक दुबै धारबाट प्राय सबै पदमा उम्मेद्वारी पर्ने सम्भावना छ । कम्युनिष्ट धारबाट महासचिव पदमा शिव पाठक, सचिवमा हिरामणी भट्टराई, कोषाध्यक्षमा हरि खत्री र सहकोषाध्यक्षमा माधव रेग्मीले उम्मेदवारी घोषणा गर्नुभएको छ भने प्रजातान्त्रिक धारबाट महासचिवमा जिवकान्त काफ्ले, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा दिपक खनालको नाम टुंगो लागेको छ ।
त्यस्तै महिला सचिवमा मायाँ खनाल र सहकोषाध्यक्षमा राजु गैरेले स्वतन्त्र उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । त्यस्तै दुई महिला सदस्यमा कम्युनिष्ट धारबाट शारदा पहारी र जुमुना पोखरेल तथा प्रजातान्त्रिक धारबाट रमा पराजुली र मञ्जु भुसालले उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । ९ खुल्ला सदस्य पदमा कम्युनिष्ट धारबाट बसन्त ढकाल, प्रेम आले, सरला भण्डारी, सुरेन्द्र ज्ञवाली, युवराज आचार्य, नारायण पठक, लालबहादुर थापा, सन्दिप सापकोटा र माधव नेपाल तथा प्रजातान्त्रिक धारबाट मित्रलाल न्यौपाने, यादव घिमिरे, कुलप्रसाद पराजुली, प्रेम शर्मा पौडेल, सुवास सिंह चौधरी, शम्भु गुप्ता र लोचन बानियाँको नाम टुंगो लगाएको छ ।
त्यस्तै बुटवल पूर्व, पश्चिम, योगिकुटी–पड्सरी, भैरहवा क्षेत्रको सेक्टर सदस्यमा दुबै टिमले छुट्टा छुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् ।
यहि असोज ३० गते विहीवार हुने संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको सोमवारबाट निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्वाचन कार्यक्रम अनुसार सोमवार मतदाता नामावली प्रकाशन गरिएको छ । मंगलवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ भने उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली २९ गते बुधवार प्रकाशन गरिने छ ।
अधिवेशन अन्तरगत नया कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्न गठित संघका कानुनी सल्लाहकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहेको ३ सदस्यीय निर्वाचन समितिले सोमवारबाट निर्वाचनको काम आरम्भ गरेको छ । समितिमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी र संघका प्रेस सल्लाहाकार सुमन अधिकारी सदस्य हुनुहुन्छ ।
बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माविको सभाहलमा हुने अधिवेशन तथा साधारण सभाको उद्घाटन पूर्व अर्थमन्त्री बिष्णुप्रासद पौडेलले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सचिव(महिला), सहकोषाध्यक्ष, एशोसिएट सदस्य सहित ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने छ । अधिवेशनकालागि १ हजार ३० जना मतदाता रहेका छन् ।
