नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्टहरुको मोर्चा मात्रै हो : प्रमुख सचेतक खाँण

1.3K

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्टहरुको मोर्चा मात्रै हो : प्रमुख सचेतक खाँण

बुटवल, २ कात्तिक । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी राजनीतिक पार्टी नभइ कम्युनिष्टहरुको एउटा मोर्चा मात्रै भएको टिप्पणी गर्नुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिले शनिबार मणिग्राममा गरेको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खाँणले नेकपालाई कम्युनिष्टहरुको मोर्चाको संज्ञा दिनु भएको हो । ‘नेपाल कम्युनिष्ट पार्टी राजनीतिक पार्टी होइन कम्युनिष्टहरुको एउटा मोर्चा हो । त्यो मोर्चा भित्र कहिल्यैपनि एकता हुन सक्दैन’ नेता खाँणले भन्नुभयो । जव जव आफनो अस्तित्व तथा नेतृत्व संकटमा पर्छ तव तव कम्युनिष्टहरु एक भएपनि शक्ति प्राप्त गरेपछि फेरी फुट्ने र आपसमै लडने भएकाले नेकपा कम्युनिष्टहरुको मोर्चा भएको टिप्पणी नेता खाँणले गर्नुभएको हो ।
कार्यशैली, नीति, दृष्टिकोण तथा सिद्धान्तका कारणले पनि कम्युनिष्टहरुको शासन सत्ता लोकतान्त्रिक पद्धतीमा नहुने नेता खाँणले दावी गर्नुभयो । कम्युनिष्टहरुले मन मष्तिस्कले लोकतान्त्रिक पद्धतीलाई स्वीकार नगरेकाले देश र जनताको हित यो सरकरबाट हुनै नसक्ने उहाँले दावी गर्नुभयो । नेपालका कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिहरु बिचको राजनीतिक द्वन्द्वकै कारण कम्युनिष्टहरु लामो समय टिक्न नसक्ने टिप्पणी गर्नुभयो ।
दुई तिहाइको कम्युनिष्ट सरकारले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन नसकेको समेत उहाँले आरोप लगाउनु भयो । ‘कम्युनिष्टहरु भारतीय प्रधानमन्त्री आए नेपालालाई पुरै मोदीमय बनाउछन्, चिनीया राष्ट्रपति आउदा सि मय बनाइदिए ।’ नेता खाँणले भन्नुभयो । पुर्वमन्त्री समेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य खाँणले भारतमा जाँदा मोदी नीति र चिनमा जाँदा सि नीति भनीदिने दोहोरो चरित्रकै कारण नेपालले आजसम्म जोगाउदै आएको निश्पक्ष नीति, हैसियत तथा अडान खतरामा परेको टिप्पणी गर्नुभयो ।
नेपालमा कम्युनिष्ट सत्ता स्थापित गर्ने कोशिष भइरहेको दावी गर्दै उहाँले चिनीया कम्युनिष्ट पार्टी र नेकपा बिच नेपालमा चिनीया शासनको प्रयोग गर्ने सम्झौता भएको दावी गर्नुभयो । काँग्रेस कमजोर हुँदा राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक मुल्य मान्यता कमजोर हुने भएकाले राष्ट्र हितकालागि काँग्रेसलाइ सुदृढ र बलियो बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।
कार्यक्रमा नेपाली काँग्रेसका प्रदेश सभासद रमा अर्यालले विश्वमाझ लज्जित गराउने सभामुख प्रकरणसगैं महिला हत्या हिसा र बलात्कारमा संलग्नलाई सरकारले नै संरक्षण गरेर महिला बिरोधी सरकारको पहिचान स्थापित गर्न गरेको आरोप लगाउनु भयो । कार्यक्रममा काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ, नगर अध्यक्ष भरत भुसाल, केशरी पाण्डे, जुना राना, नारायण डुम्रे लगायतले बोल्दै दुई तिहाइको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको बताउनु भएको थियो ।