बुटवल, ६ कात्तिक । रुपन्देही उद्योग संघमा लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरुलाई बुधबार बुटवलमा सम्मान गरिएको छ । उद्योग संघ लोकतान्त्रिक प्यानलको निर्वाचन परिचालन समितिले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरि निर्वाचित उम्मेदवारलाई सम्मान गरेको हो ।
रुपन्देही उद्योग संघको हालै सम्पन्न अधिवेशनबाट महासचिवमा जिवकान्त काफ्ले, महिला सचिवमा मायाँ खनाल, सहकोषाध्यक्षमा गिरिराज गैरे तथा महिला सदस्यमा रमा पराजुली, र मञ्जु भुसाल लोकतान्त्रिक प्यानलबाट निर्वाचित हुनु भएको थियो ।
त्यस अवसरमा बोल्दै पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले मुलुकमा लोकतान्त्रिक मुल्यमान्यता स्थापित भएकै कारण उद्योगी व्यबसायीहरुले आपसमा प्रतिस्पर्धा गर्ने वातावरण रहेको बताउनु भयो । उहाँले लोकतान्त्रिक मुल्य मान्यतालाई कसैले हटाउन खोजेपनि नेपाली काँग्रेस त्यसको रक्षक भएर उभिने बताउनु भयो । उहाँले अहिलेको कम्युनिष्ट सरकारबाट जनता आत्तिएको बताउँदै जनताप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले उद्योग तथा उद्योगी व्यबसायी प्रति सरकारको बक्रदृष्टिका कारण उद्योग व्यबसाय फस्टाउन नसकेको बताउँदै सरकार उद्योगीप्रति उदार नबन्दासम्म समृद्धि हासिल हुन नसक्ने भनाई राख्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, महिला उद्यमी साबित्रा टण्डन, रुपन्देही उद्योग संघका नवनिर्वाचित महासचिव जिवकान्त काफ्ले, महिला सचिव मायाँ खनाल, चन्द्रकान्त खनाल, रमेश खनाल, नरेशकुमार श्रेष्ठ लगायतले अहिले मुलुकमा तीन तहको सरकार रहेपनि उद्योग व्यबसायको प्रवद्धनमा कुनै पनि सरकार सकारात्मक नदेखिएको गुनासो गर्नुभएको थियो । त्यस अवसरमा संयोजक बोनिन पियाले निर्वाचित पदाधिकारी सदस्यहरुलाई बधाई दिँदै सहयोग गर्नेहरुलाई आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

