अर्घाखाँची, १४ कात्तिक । अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नम्वर ३ खनदहमा वडा अध्यक्ष पदकोलागि मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले यमलाल खनाल र नेपाली काँग्रेसले शोभाखर खनाललाई अंगाडी सारेका छन् ।
स्थानीय तहको निर्बाचनमा तत्कालिन एमालेबाट निर्वाचित अध्यक्ष जिवनकुमार चौहानको २०७४ पुसमा रुपन्देहीको सैनामैना नगरपालिका रानीबगियामा सवारी दुर्घटनामा परि ज्यान गएको थियो । वडाध्यक्षको निधन भएपछि खाली रहेको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
वडा अध्यक्षको निर्वाचन भएपनि अर्घाखाँचीमा यो निर्वाचनलाई नेकपा र नेपाली काँग्रेसले प्रतिष्ठाको लडाई बनाएका छन् । तत्कालिन एमाले एक्लैले जितेको उक्त वडा पार्टी एकिकरण पछि आफ्नो पकड कायम राख्नुपर्ने चुनौती एकातिर छ भने पार्टी भित्रैको मतभेदका कारणले गत निर्वाचनमा हारेको निर्कष सहित एक भएर पार्टीको उम्मेदवारलाई जिताउने रणनीतिमा काँग्रेस लागेको छ ।
यहि रणनीतिका साथ नेकपाले यमलाललाई सर्बसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा मालारानी गाउँपालिकाका सदस्य यमलाललाई वडा कमिटीले सिफारिस गरेको र त्यही नाममै टुंगो लाग्ने नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले भने स्थानीय तहको निर्वाचनमा त्यही वडाबाट अध्यक्ष पदमा पराजित उम्मेदवार पार्टीका गाउँपालिका संयोजक शोभाखर खनाललाई उम्मेदवार बनाउने जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले बताउनु भयो । पार्टीले कसरलाई उठाउने भन्ने अझै निर्णय नगरेपनि गएको निर्वाचनमा थोरै भोटले पराजित भएको र युवा तथा राम्रो माहोल पनि भएकाले शोभाखर नै वडा अध्यक्षको उम्मेदवार हुने उहाँले जानकारी गराउनु भयो । गएको स्थानीय तहका निर्वाचनमा शोभाखर ३६ मतले पराजित हुनु भएको थियो ।
नेकपा र काँग्रेसले उम्मेदवार छनौट गरेपनि राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका दलले भने अझै उम्मेदवारको टुंगो लगाएका छैनन् ।
