सातै प्रदेशका प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा बर्खास्त

1.3K

सातै प्रदेशका प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा बर्खास्त

बुटवल, १७ कात्तिक । राष्ट्रपति बिद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्नुभएको छ । संघीय सरकारको प्रतिनीधिका रुपमा रहेका सातै प्रदेशका प्रमुखहरुलाई आईतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिका आधारमा राष्ट्रपति भण्डारीले पदमुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको हो । ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ ७ १७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।
पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश १ मा डा. गोबिन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोईराला, गण्डकी प्रदेशमा बाबुराम कुवँर, प्रदेश पाँचमा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई नियुक्ति गरेको थियो ।