बुटवल, १९ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पताल परिषरका सटर हटाउने सामाजिक बिकास मन्त्रालयको प्रस्तावलाई प्रदेश मन्त्रिपरिषद बैठकले स्वीकृती प्रदान गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकमा सामाजिक बिकास मन्त्रालयको तर्फबाट मन्त्री सुदर्शन बरालले लुम्बिनी प्रादेशिक अस्पताल परिषदको उत्तर पूर्वमा रहेका सटर भत्काउने प्रस्ताव गर्नुभएको थियो ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्नकालागि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्तावलाई स्वीकृति दिने सहित चार निर्णय भएको जानकारी गराउनु भयो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको समयावधि कात्तिक मसान्तमा सकिँदैछ । उहाँका अनुसार उक्त समयसिमा सकिएपछि व्यबसायीलाई एक महिनाको समायावधी दिने र सो समयमा पनि सटर खाली नगरे मन्त्रालयले डोजर लगाएर सटर भत्काउन सामाजिक बिकास मन्त्रालयलाई मन्त्रीपरिषदले स्वीकृति दिएको हो ।
अस्पताल परिषरमा रहेका ७२ वटा सटरबाट अस्पतालले बार्षिक करिव ९ करोड रुपैंया आम्दानी गर्दै आएको थियो । ती सटर भत्काएर मन्त्रालयले अस्पताल परिषरमा पर्खाल लगाउने जनाएको छ ।
त्यस्तैगरी बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत ६ जिल्लामा सामाजिक डिभिजन कार्यालय सञ्चालन गर्न स्विकृति समेत दिएको छ । प्रवक्ता चौधरीका अनुसार सामाजिक विकास मन्त्रालयबाट सबै जिल्लाको काम एकसाथ गर्न गाह्रो भएकाले दुई जिल्ला हेर्नेगरी सामाजिक विकास डिभिजन कार्यालय स्थापना गर्न लागिएको हो ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्राइभेट फर्म दर्ता नियमावली २०७६ स्वीकृत गरेको छ । स्वीकृत नयाँ नियमावली अनुसार ५ लाखसम्मको फर्म दर्ताका लागि एक हजार रुपैयाँ, ५ देखि २० सम्मको फर्मका लागि ५ हजार तथा २० लाख देखि ५० लाख सम्मको नयाँ फर्म दर्ता गर्न १५ हजार रुपैयाँ शूल्क निर्धारण गरेको छ । ५० लाख देखि १ करोड सम्मको फर्मका लागि २५ हजार तथा एक करोड भन्दा माथीका फर्महरुका लागि प्रतिकरोड थप ५ हजार रुपैयाँ शूल्क लाग्ने छ । त्यस्तै बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई नियुक्त गरेको छ ।
