नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतले आफ्नो नक्सा पारेर नक्सा सार्वजनिक गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपा निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाको छैठौं पुनर्गठन दिवसको अवसर पारेर बिद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)ले भारतीय हस्तक्षप विरुद्ध प्रदर्शन गरेको हो । विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा त्यस बिरुद्ध प्रदर्शन गरिएको हो । बुटवलका बिभिन्न कलेजमा अध्ययन गर्ने बिद्यार्थीलाई उक्त बिद्यार्थी संगठनले सडकमा उतारेको थियो । त्यस क्रममा बिद्यार्थीहरुले ‘कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय दादागिरी बन्दगर, नेपाली भूमि छोड…’ लगायतका नारावाजी गरेका थिए ।
त्यस क्रममा बुटवलको होराईजन कलेज र मणिमुकुन्द कलेजमा अध्ययन गर्ने तीन जना बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको बिद्यार्थीहरुले बताएका छन् । यद्यपी ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले प्रदर्शनमा उत्रेका कुनैपनि बिद्यार्थीलाई नियन्त्रणमा नलिएको बताउनु भयो ।

