किया भारतले कोरियन प्रविधिमा निर्माण गरेको नयाँ गाडी सेल्टोस नेपाली बजारमा लञ्च गरिएको छ । कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुपले नेपाल भित्र्यासंगै साविक लुम्बिनी अञ्चलको आधिकारिक विक्रेता अटो स्टेशन प्राली बुटवलले यस क्षेत्रमा नयाँ सेल्टोस गाडी लञ्च सहित बिक्रि खुल्ला गरेको हो ।
शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले यस क्षेत्रमा उक्त गाडीको लञ्च गर्नुभएको हो । त्यस अवसरमा बोल्दै अध्यक्ष हमालले व्यबसायिक सफलताको शुभकामना सहित गाडीको बिक्रि पछिका सेवा सुविधालाई समेत जोड दिन आग्रह गर्नुभयो । गाडीको बिक्रि त्यसपछिको पार्टसको उपलब्धता र सर्भिसमा भरपर्ने भएकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभएको हो ।
लञ्चिङ् कार्यक्रममा कन्टिनेन्टल ग्रुपका प्रमुख सुधिर घिमिरेले कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रिएको बताउनु भयो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको थियो । उहाँका अनुसार भारत–६ ईञ्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको उहाँले बताउनु भयो । कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका घिमिरेले जानकारी गराउनु भयो ।
सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता रहेको कम्पनीका डिलर ईञ्चार्ज मञ्जित पोखरेलले जानकारी गराउनु भयो । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको उहाँले बताउनु भयो ।
सेल्टोस लञ्चिङ् कार्यक्रममा अटो स्टेशन प्राली बुटवलका सञ्चालक बिमर्श श्रेष्ठले गाडीको बिक्रि मात्रै नभएर उपभोक्ताको सुविधाको लागि पार्टस तथा ग्यारेज राख्ने तयारी भईरहेको जानकारी गराउँदै केही दिनभित्रै सोरुम नजिकै पार्टस र सर्भिस सेन्टर सञ्चालनमा आउने जानकारी गराउनु भयो ।
कियाको यस क्षेत्रको आधिकारिक बिक्रेता अटो स्टेशन प्रालीका सेल्स म्यानेजर खेम जिसीले नयाँ आएको सेल्टोस नेपाली माटो र बाटो सुहाउँदो रहेकाले ढुक्क हुन आग्रह गर्नुभयो ।


