प्रतिनिधिसभाको रिक्त सभामुखका लागि नेकपाबाट अग्नी सापकोटाको एकल उम्मेदवारी परेको छ । यहि माघको १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेपछि सापकोटा सभामुख बन्ने पक्का भएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सभामुख निर्वार्चित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधि सभाको सभामुखको आसन्न निर्वाचनमा काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिनुभयो ।
नेकपाले भने यस अंगाडी नै सापकोटालाई सभामुखमा अंगाडी सारेको थियो । पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुव्र्यबहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिनुभएको थियो ।

