मानव सेवा आश्रमको भवन निर्माणकालागि महायज्ञ गरिँदै, एघार करोड संकलन गर्ने लक्ष्य

1.3K

मानव सेवा आश्रमको भवन निर्माणकालागि महायज्ञ गरिँदै, एघार करोड संकलन गर्ने लक्ष्य

मानव सेवा आश्रमले बुटवलमा आफ्नै भवन निर्माणकालागि अक्षयकोष स्थापनार्थ महायज्ञ गर्ने भएको छ । मानव सेवा आश्रम पाँच नं. प्रदेश शाखाले भवन निर्माणकालागि सहयोग संकलन गर्ने उद्देश्यले यहि माघको २१ देखि २७ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्न लागिएको आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा मुल आयोजक समिति समेत घोषणा गरिएको छ । महायज्ञ सम्पन्न गर्नकालागि समाजसेवी लोकनाथ भूसालको संयोजकत्वमा ५०१ सदस्य रहेको मूल आयोजक समिति गठन गरिएको छ । मुल आयोजक समितिको महासचिवमा माधव नेपाल र कोषाध्यक्षमा चिन्तामणी पाण्डे रहनु भएको छ । त्यस्तै विषयगत २८ वटा बिभिन्न उपसमिति गठन गरिएको मानव सेवा आश्रम प्रदेश पाँचकी संयोजक रुपा केसीले जानकारी गराउनु भयो ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी मानव सेवा आश्रम र महायज्ञका बारेमा जानकारी गराउँदै भवन निर्माणार्थ आयोजना गरिएको महायज्ञबाट ११ करोड रुपैंया आर्थिक संकलन गर्ने लक्ष्य लिईएको अवगत गराउनु भयो । मानवता अभिबृद्धिकालागि समेत सञ्चालन गर्नलागिएको महायज्ञमा स्वच्छिक सहयोग गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले मानवसेवा आश्रमले मानवता प्रवद्र्धनको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउँदै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र कोही मानिस भोकै र नाङ्गै रहनु नपर्ने नगर घोषणा भइसकेको बताउनु भयो ।
मानवसेवा आश्रम २०८२ सालभित्र नेपाललाई नै सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन) सडकमानव रहित राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य सहित अघि बढिरहेको केन्द्रीय अध्यक्ष अधिकारीले बताउनु भयो । देशका सातै प्रदेशमा १९ ओटा शाखा रहेको मानवसेवा आश्रमको बुटवलको सुख्खानगरमा २ ओटा सेवाकेन्द्रहरु सञ्चालनमा छन् भने हाल १३० जनाले संरक्षण लिइहेको आश्रमले जनाएको छ ।