राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसले सरकार ढाल्ने षड्यन्त्र गरेको हो जनतालाई प्रष्ट रुपमा जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा वलीलाई आग्रह गर्नु भएको छ । दुई दिन अंगाडी मात्रै प्रधानमन्त्री वलीले गृह जिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भईरहेको अभिव्यक्ति दिनुभएको थियो ।
मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका राप्रपा अध्यक्ष पाथाले कहाँबाट कसले कुन शक्तिले हो सरकार ढाल्ने षड्यन्त्र गरेको प्रष्ट रुपमा भन्नुपर्ने बताउनु भएको हो । उहाँले विपक्षि दलहरु र जनताले समेत यो सरकारले ५ वर्ष काम गरोस भन्ने रहेको भएपनि दुई वर्षको अवधिमा सरकारले जनताको अपेक्षा अनुसारका कुनैपनि काम गर्न नसकेको टिप्पणी गर्नुभयो । ‘जनताका अपेक्षा अनुसार सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन ।’ उहाँले भन्नुभयो–‘सरकार ढाल्ने षड्यन्त्र भएको गुनासो गर्नुभएको छ, त्यसो हो भने कहाँबाट कसले ढाल्ने षड्यन्त्र गरेको हो, त्यो प्रष्ट्याउनु पर्छ ।’
पार्टीको पाँच नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बुटवल आउनु भएका अध्यक्ष थापाले तीन पार्टी बिचको एकताका काम सकिएको बताउँदै एकताकालागि पशुपति समसेर राणा र प्रकाशचन्द्र लोहोनीको फोन कुरेर बसेको बताउनु भयो । उहाँले भन्नुभयो–‘एकताको काम सबै सकिएको छ, अव पशुपती जी र प्रकाश जीको मिति तोकेर हामीलाई बोलाउन मात्रै बाँकी छ ।’
पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी नेपालका हितमा रहेको बताउँदै उहाँले सत्तारुढ दलका जिम्मेवार नेताबाटै त्यसको बिरोध हुँदा गम्भिर प्रश्न र आशंका उत्पन्न भएको उल्लेख गर्नुभयो । एमसीसीका बिषयमा सरकारले प्रष्ट धारणा बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
राप्रपाले ३ लाख क्रियाशिल सदस्य बढाउने लक्ष्य सहित सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जसमा हालसम्म बागमती र गण्डकी प्रदेशमा सकिएको छ भने आज मंगलबार र भोली बुधबार प्रदेश पाँचमा प्रशिक्षण कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भयो । पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको राप्रपाले तीन पार्टी बिच एकता पुरा गरेर आगामी २०७७ जेठ २५ गतेलाई महाधिवेशनको मिति समेत तय गरिसकिएको उहाँले जानकारी गराउनु भयो ।
निर्वाचनको संघारमा पार्टी विभाजन हुनु, नेपाली काँग्रेससंगको सहकार्य हुनु तर सहकार्यमा काँग्रेसले ईमान्दारिता नदेखाउनु, कमजोर संगठन लगायतका कारणले गत निर्वाचनमा पार्टीले नराम्रोसंग हार व्यहार्नु परेकाले त्यसबाट पाठ सिकेर पार्टीलाई मजबुद बनाउनकालागि अभियान सञ्चालन गरिएको समेत उहाँले बताउनु भयो । उहाँका अनुसार ०७७ जेठ २५ भित्रै प्रदेश, ७५३ वटै स्थानीय तह तथा सबै वडामा पार्टीको संगठन निर्माण गरिने समेत जानकारी गराउनु भयो ।