सुशीला रेग्मी /
पाल्पा जिल्लाको रामपुर, किर्तिपुर, सहलकोट हुँदै नवलपुरको झ्यालबास जोड्ने सडक खण्डको निस्दीखोलामा पक्की पुलको एक कार्यक्रमका बिच शिलन्यास भएको छ । प्रदेश पाँच भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा निर्माण हुन लागेको रामपुर नगरपालिका १ र ३ जोड्ने निस्दीखोला मसानेघाट पक्की पुलको शुक्रबार शिलन्यास गरिएको हो ।
पुलको प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र पूर्व मन्त्री एवं संघीय सांसद दलबहादुर रानाले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । पुलको शिलन्यास गर्दै मन्त्री चौधरी र सांसद रानाले अब बजेट अभावमा पूर्वाधार निर्माणका काम नरोकिने बताउनु भएको छ । उहाँहरुले बजेट नभए पनि छिटो प्राविधिक सल्लाह दिने व्यवस्था र नियमनलाई दुरुस्त राखिने काम भएकाले पूर्वाधार निर्माणका काम नरोकिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले प्रदेश सरकार आएसंगै जनताले विकासको प्रत्यक्ष अनुभूति गरेको बताउनु भयो । प्रदेश सरकार आएसंगै विकासले गति लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘पहिले पनि विकास नभएको होइन । तर समयमा अनुगमन, प्राविधिक सल्लाह तथा रकम निकासा नहुँदा विकासमा ढिलो हुने गरेको हो ।’ उहाँले प्रदेशमा संघको तुलनामा बजेट नभए पनि छिटो प्राविधिक सल्लाह दिने व्यवस्था र नियमनलाई दुरुस्त राखिने हुनाले अब विकासका कार्य अघि बढ्ने बताउनु भयो । मन्त्री चौधरीले पाल्पामा निस्दीखोला सहित अन्य ठाउँमा ५ वटा पुलनिर्माणको कार्यान्वयनमा अघि बढेको बताउनु भयो । पूर्व मन्त्री एवं संघीय सांसद रानाले १२ वर्ष पछिको प्रयासले बल्ल सार्थक रुप प्राप्त गरेको बताउँदै निस्दी खोलाको पुलसंगै अब रामपुर पन्थे, सहलकोट, झ्यालवास सडकलाई सुधार गर्न अब प्रदेशले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले रामपुर ३ र निस्दी २ लाई जोड्ने पुल पनि प्रक्रियामा रहेको बताउनु भयो । पछिल्लो समय सरकारले विकासलाई तिव्रगतिमा अघि बढाए पनि नकरात्मक भ्रम फैलाएको प्रति रानाले दुःख व्यक्त गर्नुभयो ।
प्रदेश ५ का सांसद युवराज खनालले संघ, प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणलाई अघि बढाएको भन्दै विकास निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले योजनाहरुको निगरानी पनि आवश्यक रहेको बताउँदै पुल निर्माण पश्चात स्थानीयहरुलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरले आफ्नो स्रोत र साधनले भ्यायसम्म विकासमा ध्यान दिएको बताउनु भयो । थापाले नगरपालिका पुर्वाधारसंगै पर्यटन विकासलाई प्रथामिकतामा राखेर अघि बढेको धारणा व्यक्त गर्नुभयो । प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले ६२ दशमलव ९५ मिटर लामो पुल ८ करोड ५४ लाख ३३ हजार ५ सय ८१ रुपैयाँ अनुमानित लागत मध्ये इलाइट निर्माण कम्पनीले ८ करोड १२ लाख २५ हजार ६ सय ४३ को लागतमा सम्झौता गरेको जानकारी गराउनु भयो । गत फागुन १२ मा सम्झौता भएको पुल २४ महिनामा सकिने छ । नयाँ प्रविधि अनुसार निर्माण हुने पुलको चौडाई ११ मिटर रहने छ । कार्यक्रममा निर्माण व्यवसायी श्याम केसीले निर्धारित समयमा नै निर्माण गरिने प्रतिवद्धता जनाउनु भयो ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर १ का वडा अध्यक्ष मित्रलाल कंडेलको स्वागत र रामपुर ३ का वडा अध्यक्ष दिनेशकुमार खनालको सञ्चालनमा भएको थियो । निस्दी खोलामा पुल नहुँदा रामपुर १, निस्दी १, २ र ३ का स्थानीयहरु प्रत्यक्ष मारमा परेका थिए ।