नेपालमा कोरोना अपडेट : आज थपिएका संक्रमित हालसम्मकै उच्च, कति पुगे (विवरणसहित)

1.3K

नेपालमा कोरोना अपडेट : आज थपिएका संक्रमित हालसम्मकै उच्च, कति पुगे (विवरणसहित)

बुटवल । नेपालमा आज शुुक्रवार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये ४ सय २४ जना पुरुष छन् भने २४ जना महिला संक्रमित छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । कुल संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष संक्रमित छन् भने ३ सय ५३ जना महिला संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै उनीहरु सबैको स्वासथ्य अवस्था सामान्य रहेको बताए । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । नेपालमा हिजो बिहीवार एकैदिन २५० जनामा संक्रमण पुष्टि भएको थियो । आज थपिएका संक्रमितको संख्या एकैदिन पुष्टि भएका संक्रमितको हालसम्मकै उच्च संख्या हो । यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै नेपालमा थप १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । देशका ७७ मध्ये ७२ वटा जिल्लामा यो संक्रमण फैलिएको छ । ७ प्रदेशमध्ये कोरोनाको सबैभन्दा धेरै प्रभाव प्रदेश २ मा परेको छ ।

कहाँका हुन् आज थपिएकाहरु ?
विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।