अस्पतालका कर्मचारीलाई अवकास नगर्न र आर्थिक पारदर्शिता कायम गर्न काँग्रेसको माग

1.3K

अस्पतालका कर्मचारीलाई अवकास नगर्न र आर्थिक पारदर्शिता कायम गर्न काँग्रेसको माग

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना महामारीको समयमा त्यहाँ कार्यरत (करार तथा ज्यालादारी) कर्मचारीलाई बिदा गर्न लागेको प्रति नेपाली काँग्रेसले तत्काल उक्त कदम नचाल्न आग्रह गरेको छ । नेपाली काँग्रेस बुटवल नगर समितिले बुधबार अस्पताल बिकास समितिलाई ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर सेवा गरेका कर्मचारीको म्याद थप्नुको साटो रोजिरोटी खोस्न थालेको भन्दै उक्त कदमलाई तत्काल सच्याउन माग गरेको हो ।
त्यस्तैगरी लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहनेगरी बुटवल धागो कारखानामा स्थापना गरिएको कोरोना अस्पतालका बिभिन्न संरचना निर्माण तथा स्वास्थ्य उपकरणहरुको खरिदमा आर्थिक ऐन विपरित काम भएको भन्दै जनगुनासो समेत आएकाले तत्काल प्रष्ट रुपमा सार्वजनिक गर्न माग गरिएको छ ।
उक्त ज्ञापन पत्र नेपाली काँग्रेस बुटवलका सभापति खेलराज पाण्डेले अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईलाई हस्तान्तरण गर्दै उक्त अस्पताल यस क्षेत्रकै गहना भएकाले अस्पतालको श्रीबृद्धिमा सबैको चासो हुनु स्वाभाविकै भएको र यदि अस्पतालमा आर्थिक अनियमितता भएको भए रोक्न र ती विषयलाई छानविनको दायरामा ल्याउन समेत माग गर्नुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष भट्टराईले कोरोना महामारीको समयमा हतारमा काम गर्नुपर्ने भएकाले सबै बिधि प्रकृया पुरा गर्न कठिन भएको र आर्थिक अनियमितता नभएको दावी गर्नुभयो । उहाँले अस्पतालमा भएगरेका कामका बारेमा तुरुन्तै सार्वजनिक गर्ने पनि जानकारी गराउनु भयो । अस्पताल बिकास समितिले तत्कालै करिव पौने २ सय करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई अवकास दिने तयारी गरेको छ ।