प्रदेश पाँचमा पछिल्लो २४ घन्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश पाँच सामाजिक बिकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश बिभिन्न ८ जिल्लामा १४ जना महिला र ३१ जना पुरुष गरि ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बुधबार साँझ साढे ४ बजेसम्म कपिलबस्तुमा ११, गुल्मीमा १०, रुपन्देही र बाँकेमा ९÷९, बर्दिया र नवलपरासी पश्चिममा २÷२ तथा पाल्पा र अर्घाखाँचीमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तैगरी कोरोना संक्रमणका कारण प्रदेश पाँचमा ३२ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म प्रदेश पाँचमा ६ हजार ६१५ जनालाई संक्रमण पुष्टि भएकोमा ५ हजार ६२ जना निको भई घर फर्किसकेका छन् भने १ हजार ४७३ जना उपचाररत हरेको मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलले जानकारी गराउनु भएको छ ।
कोरोना संक्रमण भई अस्पतालमा उपचार भएकाहरु मध्ये तीन जनालाई भेन्टिलेटरमा तथा २० जनालाई आईसियुमा उपचार भईरहेको छ । त्यस्तै सामान्य लक्षण देखिएका ११३ जना बिभिन्न अस्पतालमा चिकित्सकहरुको निगरानीमा रहेको पनि प्रदेश पाँच सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकाहरुलाई आईसोलेसनमा राखिएको र प्रदेशका बिभिन्न स्थानमा रहेका १३७ आईसोलेसन केन्द्रमा हाल १ हजार २६३ जना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले प्रदेशका बिभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १ हजार ३८२ जना रहेका छन् ।