प्रदेश सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । प्रदेश पाँच मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलबस्तु, अर्घाखाँची, पाल्पा र रुपन्देहीको भिम अस्पताल भैरहवालाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी मन्त्री परिषद बैठकले भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना तथा अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय गरिएको छ ।
प्रदेश सरकारले प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिका गरि ६ वटा स्थानीय तहलाई शब बाहन खरिदका लागि कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।
गुल्मीको रेसुङगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने समेत निर्णय भएको छ ।
बैठकले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्नुका साथै पदक प्राप्त गर्ने व्यक्ति तथा संस्थाहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।