रिब्दीकोट गाउँपालिका पाल्पा : सिनियरलाई लत्याएर जुनियरलाई स्वास्थ्य शाखाको जिम्मेवारी

1.3K

रिब्दीकोट गाउँपालिका पाल्पा : सिनियरलाई लत्याएर जुनियरलाई स्वास्थ्य शाखाको जिम्मेवारी

कबिन्द्र नेपाल /

पाल्पाको रिब्दीकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर कर्मचारीलाई लत्याएर जुनियरलाई संयोजकको जिम्मेवारी दिईएको छ । तीन वर्षदेखि गाउँपालिकामा प्रमुखको जिम्मेवारीमा रहेका छैठौं तहका जनस्वास्थ्य निरिक्षक बिष्णु खनाललाई हटाएर सोही गाउँपालिकामा उपसंयोजकको जिम्मेवारीमा रहेका पाँचौ तहका हेल्थ असिस्टेन्ट सुनिल अधिकारीलाई संयोजकको जिम्मेवारी दिनेगरी गाउँपालिकाले तयारी गरेको छ । अधिकारीको बढुवा भएर जनस्वास्थ्य निरिक्षक भएपनि अझै पदस्थापन भएको छैन । पदस्थापन नहुँदा सम्म पुरानै पदीय मर्यादा हुन्छ ।
स्वास्थ्य शाखाको छैठौं तहका प्रमुखलाई अन्यत्र खटाउने गरी उक्त पदमा पाँचौ तहका अधिकारीलाई जिम्मेवारी दिनको लागि गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याललाई लिखित आदेश गर्नुभएको छ । त्यस्तै गाउँपालिकाले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दा कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने भएपनि गाउँपालिकाको बैठकले कुनै निर्णय लिईसकेको छैन ।
स्वास्थ्य सेवा ऐन नियमावली अनुसार पनि सिनियरलाई नै प्रमुख बनाउनु पर्छ । काम गर्ने कर्मचारीको काम सन्तोषजनक छैन भनेपनि कार्यपालिकाले जिम्मेवारी फेरबदल गर्न सक्छ । तर अहिलेसम्म गाउँपालिकामा आफ्नो काममा कुनै प्रकारको अपजस नआएको खनाल बताउनु हुन्छ । ‘मलाई अहिलेसम्म तपाईले भनेको यो काम मिलेन भनेर अध्यक्ष उपाध्यक्ष कसैले पनि भन्नुभएको छैन ।’ उहाँले भन्नुभयो–‘मैले आफै पनि बेला बेलामा सोध्ने गरेको थिए, ठिक छ राम्रो छ भन्नुहुन्थ्यो ।’
गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले कर्मचारीको जिम्मेवारी फेरवदल गर्ने कुरा सामान्य भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–‘स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी फेरवदल गर्ने कारण त्यस्तो केही छैन, हाम्रो आन्तरिक कुरा हो ।’ उहाँको यो भनाईले बिचार नमिलेरै हो की भन्ने कुरालाई बल पु¥याएको छ ।
अध्यक्ष र तपाईको राजनीति फरक भएर हो र ? भन्ने प्रश्नमा खनालले भन्नुभयो–‘त्यो त मलाई थाहा भएन, हामी कर्मचारी ऐन नियम अनुसार काम गर्ने हो, त्यसमा कही पनि चुकेको छैन ।’
अध्यक्ष जिसीले जिम्मेवारी फेरवदलको कुरा सामान्य भएको बताउँदै मिडियामा जाने गुनासो गर्ने गर्न थाल्नुभयो भने झन उहाँलाई नै समस्या हुने बताउनु भयो । आफू अन्यायमा परेको कुरा बोल्न समेत चेतावनी दिने खालको गाउँपालिकाका अध्यक्षको शैलिले राजनीतिक आग्रह पूवाग्रह बोकेर कर्मचारीको जिम्मेवारी फेरवदल भएको प्रष्ट पार्छ ।
गाउँपालिकाले गरेको स्वास्थ्य शाखा प्रमुख फेरवदलको निर्णय यहि असोजको २५ गतेदेखि लागु हुँदैछ । ‘सिनियर कर्मचारी हुँदाहुँदै जुनियरलाई प्रमुखको जिम्मेवारी दिन मिल्दैमिल्दैन ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले भन्नुभयो–‘अध्यक्षबाट लिखित आदेश आईसकेपछि कार्यान्वयन गर्ने मेरो दायित्व हो ।’ सामान्यतया कर्मचारीको खटनपटनको जिम्मेवारी कार्यालय प्रमुखको हो । उहाँले भन्नुभयो–‘विवादित केशमा लिखित आदेश आएपछि मेरो केही पनि लाग्दैन ।’
अहिले कोरोना भाईरसको महामारीले जनजीवन आक्रान्त छ । यस्तो बेलामा जनस्वास्थ्यलाई केन्द्रमा राखेर स्वास्थ्यका गतिबिधि बढाउनु पर्नेमा कर्मचारीको मनोबल नै गिर्नेगरी भएका कदमले स्वास्थ्यका कार्यक्रमलाई प्रभावित पार्ने निश्चित छ ।