गृह जिल्ला रुपन्देही आएका अर्थमन्त्री बिष्णु पौडेललाई कालो झण्डा देखाएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलले बिकासको बिरोध नभई मन्त्री पदसंग राजधानी साटेको बिषयलाई मात्रै बिरोध गरिएको प्रष्ट्याएका छन् ।
प्रदेशको स्थायी राजधानी बुटवललाई बनाउने भन्दै मत मागेर रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित पौडेलले स्थायी राजधानी दाङ् सार्नको लागि मन्त्री पद पाएपछि सहमति गरेकोले उक्त प्रबृत्तिको मात्रै बिरोध गरिएको उनीहरुले बताएका छन् । मन्त्री भएपछि पहिलो पटक जिल्ला आएका पौडेललाई बुधबार बिहान नेबिसघ र तरुण दलले बुटवलमा कालो झण्डा देखाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएको भन्दै नेकपा रुपन्देहीले आपत्ति प्रकट गरेको थियो । नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ र नेबिसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले बिहिबार प्रेस बिज्ञप्ती जारी गरी शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने अधिकारमाथि नेकपाले धावा बोलेकोमा दुःख लागेको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा आफूहरु बिकास बिरोधी नभएको प्रष्ट पार्दै अर्थमन्त्री पौडेलले गरेका उद्घाटन तथा शिलान्यासका योजनाहरु विगतमा नेपाली काँग्रेसकै अंघि बढेको समेत दावी गरिएको छ । बिकास निर्माणको सवालमा आफूहरु तथा आफ्नो मातृ पार्टी समेत साथमा रहेको जानकारी गराउँदै राजधानीको विषयमा यस क्षेत्रको जनप्रतिनिधिको भुमिका आपत्तिजनक भएकोले त्यसको विरोध गरेको र आगामी दिनमा पनि विरोध कायमै रहने उल्लेख गरिएको छ ।