युरोपियन युनियनको आर्थिक सहयोगमा श्रम बजार सूचना प्रणाली सम्बन्धि परियोजना

1.3K

युरोपियन युनियनको आर्थिक सहयोगमा श्रम बजार सूचना प्रणाली सम्बन्धि परियोजना

श्रम बजार सूचना प्रणालीलाई व्यबस्थित गर्नको लागि लुम्बिनी प्रदेशमा श्रम बजार सम्बन्धि परियोजना लञ्चिङ् भएको छ । युरोपियन युनियनको आर्थिक तथा ब्रिटिस काउन्सिलको प्राबिधिक सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यबसायी महासंघको साझेदारीमा ‘ईम्प्लोयर लिड लेवर मार्केट सेक्रेटरियट’ परियोजना सुरु गरिएको हो ।
उक्त परियोजनाको बिहिबार बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्नुभएको हो । परियोजनाले कुन मापदण्डको कति जनशक्ति नीजि क्षेत्रलाई आवश्यक छ त्यसको अनुसन्धान गरेर सरकारलाई सूचना प्रदान गर्ने परियोजनाका टिम लिडर चन्द्रकान्त अधिकारीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार त्यस्तै कति जनशक्तिलाई कुन मापदण्डको तालिम दिने भन्ने समेत अध्ययन गर्ने र त्यसको समेत सरकारलाई सिफारिस गरिने भएकाले त्यसको मोनिटरिङ् सरकारले गरोस भन्ने नीजि क्षेत्रले चाहेको छ । सरकार सहित १२ वटा तालिम प्रदायक संस्थाबाट बार्षिक ५० हजार जनाले तालिम लिईरहेपनि नीजि क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादन नभएको भन्दै उहाँले नीजि क्षेत्रको माग अनुसार तालिमलाई समेत परिस्कित गरोस भन्ने आफूहरुले चाहेको उहाँको भनाई छ ।
नेपाल सरकारबाट स्वीकृत यो परियोजना १४ महिना सञ्चालन गरिने छ भने यसको कुल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ रुपैंया छ । परियोजनाको उद्घाटन गर्दै प्रदेश प्रमुख यादवले यो परियोजनाले औद्योगिक बिकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले औद्योगिक बिकासको लागि यो कार्यक्रम फलदायी हुने बताउँदै प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मौरले मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांकको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास बताउनु भयो । उहाले मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा सावित हुने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुसिलचन्द्र तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव रेवतीरमण पौडेल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र राज पाण्डे, परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम वोहोरा, होटल महासंघका माधव नेपाल, निमार्ण व्यवसायी महासंघका टोपबहादुर रायमाझी, उद्योग वाणिज्य महासंघका यज्ञ भट्टराई लगायतले बोल्नु भएको थियो ।