नेपाल उद्योग बाणिज्य महासंघले सन् २०३० सम्ममा मुलुकको अर्थतन्त्रलाई एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी भिजन पेपर तयार गरेको छ । दोहोरो अंकको आर्थिक बृद्धि, आत्मनिर्भर र उत्पादनशिल अर्थतन्त्र र वार्षिक ४ लाख रोजगारीको अवसर सिर्जना गर्नेगरी भिजन पेपर तयार गरिएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी गराउनु भयो ।
त्यसको लागि आधुनिक कृषि, उद्योग र सेवा तर्फ लगानी रुपान्तरण हुनेगरी सुरकारलाई सुझाव सहित भिजन पेपर तयारी गरिएको हो । त्यस्तै निजी क्षेत्रले खेल्नुपर्ने भूमिकामा नेपाल उद्योग बाणिज्य महासंघले समेत त्यसमा प्रतिवद्धता व्यक्त गरेको छ । त्यसको लागि महासंघले सय वटा सुधारका प्राथमिकता पहिचान गरि नीतिगत सुधारमा सरकारलाई सुझाव दिईएको उहाँले बताउनु भयो ।
यदि महासंघले तयार पारेको भिजन पेपर कार्यान्वयनमा सरकारले प्रतिवद्ध भएर काम गर्ने हो भने सन् २०३० सम्ममा लगानी अभिबृद्धि गरि व्यापारमा निर्यातको हिस्सा बढाई व्यापार घाटा कम गर्ने, दोहोरो अंकको आर्थिक बृद्धिदरमार्फत नेपालमा १ सय अर्ब डलसको अर्थतन्त्र निर्माण हुने र दीगो उच्च आर्थिक बृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना हुने अध्यक्ष गोल्छाको दावी छ ।
‘सम्मानित निजी क्षेत्र, समुन्नत नेपाल’ भन्ने नारा सहित महासंघले तयार पारेको भिजन पेपर (नेपालको आर्थिक रुपान्तरण मार्गचित्र २०३०)मा सुझाव लिनको लागि महासंघले आईतबार बाँकेको कोहलपुरमा कार्यशाला गोष्ठि समेत गरेको छ । उक्त गोष्ठिमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदशका जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले सुझाव सल्लाह दिएका छन् ।

त्यस अवसरमा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले पाईलैपिच्छे कर बझाउने पर्ने झण्झटिलो प्रणाली हटाउन र राजश्व संकलनको लागि एकद्वार प्रणाली बनाउनु पर्ने, असार मसान्तमा हुने बिकासे कामको चाप हटाउन र त्रैमासिक योजना बनाउनु पर्ने, भन्सार मुल्यांकलनलाई बैज्ञानिक गर्नुपर्ने, कम्तिमा प्रदेश प्रदेशमा कम्पनी रजिष्टारको कार्यालय राख्नुपर्ने, साना तथा मझौला उद्योगलाई लक्षित गरेर बनाईएको सहुलियत ऋणको प्रावधान कार्यान्वयन हुनुपर्ने, करको दर कम गर्ने र दायरा बढाउनु पर्ने, बिद्युतमा लगाईएको डिमान्डचार्ज सधैको लागि अन्त्य गर्नको लागि महासंघले पहल गर्न आग्रह गरेका थिए ।
त्यस्तैगरी नेपाल भू–परिवेष्ठित मुलुक भएकोले सहज आयात निर्यातको लागि पारवहन सुविधाको व्यबस्था मिलाउन, बैंकबाट लिएको ऋण नविकरण नुहँदासम्म (कम्तिमा एक वर्ष) व्याजदरमा बृद्धि नगर्ने प्रवन्ध मिलाउन, थ्रेस होल्डको दायरा बढाउन र भूमि बैंकको व्यबस्था गरि जमिन नभएकाहरुलाई व्यबसायिक रुपमा कृषि व्यबसायको लागि भूमि उपलब्ध गराउने व्यबस्था मिलाउन, विलाशिता बाहेकका बस्तुमा लगाउँदै आएको अन्तशुल्क खारेजीको लागि पहलकदमी उठाउन समेत जिल्ला नगरका अध्यक्षहरुले महासंघको ध्यानाकर्षण गरेका थिए ।
त्यस्तैगरी पर्यटन उद्योगको बिकासको लागि सुरक्षित र सहज कोरिडोर निर्माण गर्नुपर्ने, कृषिजन्य उत्पादनका बाह्य आयातलाई निरुत्साहित गर्नुपर्ने समेत उनीहरुले सुझाव राखेका थिए ।
जिल्ला नगरका अध्यक्षहरुले दिएको सुझावलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले भिजन पेपर कार्यान्वयन हुँदा यस प्रकारका अधिकांश समस्या समाधान हुने र सरकारी संयन्त्रबाट भिजन पेपर कार्यान्वयनको लागि बलियो आधार तयार भएकोले यसको कार्यान्वयनको लागि महासंघ र जिल्ला नगरको भूमिकामा तयार हुन आग्रह गर्नुभयो । उक्त भिजन पेपर महासंघको यहि चैतको २८ गते हुने साधारण सभामा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । साधारण सभाबाट पारित भएपछि सरकारलाई बुझाउने र त्यसको कार्यान्वयनको लागि स्वयम प्रधानमन्त्री सकारात्मक रहेकोले कार्यान्वयनको पाटो बलियो बनेको अध्यक्ष गोल्छाले विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लामो अध्ययन र सम्बन्धित क्षेत्रका बिज्ञको सुझाव सल्लाहको आधारमा भिजन पेपर तयार भएकोले त्यस अनुरुप सरकारले सम्बोधन गर्ने हो भने निजी क्षेत्रका अधिकांश समस्या समाधान हुने र मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने बताउनु भयो । मुख्य आर्थिक क्षेत्र कृषि, सेवा र उद्योगमा भिजन पेपरले जोड दिएको उहाँको भनाई छ । मुलुकमा देखिएको राजनीतिक तरलताको कारण बाह्य लगानी निरुत्साहित भएको उल्लेख गर्दै उहाँले बिदेशी लगानी कर्ताले कानुनी पाटोलाई एकदमै कमजोरी महसुस गरेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा महासंघका जिल्ला नगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगत तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एशोसियट तर्फका उपाध्यक्ष रामचन्द्र संघाई, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही, सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष लगायतले भिजन पेपरका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो । नेपाल उद्योग बाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट २० र कर्णाली र सुदुरपश्चिम प्रदेशबाट १०÷१० जिल्लानगर उद्योग बाणिज्य संघ छन् ।