प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गर्नुभएको हो ।
यस अगाडि सोमबार नै बिशेष अधिवेशन मार्फत विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्ताव अस्वीकृत भएसंगै प्रधानमन्त्री ओली पदमुक्त हुनु भएको थियो । त्यस लगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले संयक्त विज्ञप्ती जारी गरि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।
