हार्दिक श्रदाञ्जली बाबा !

1.3K

हार्दिक श्रदाञ्जली बाबा !

नारायण गुरुङ /

हाम्रो पुज्यनीय बाबा श्री शेरबहादुर गुरुङज्युको बिस २०७८ साल जेठ ५ गते बुधबारका दिन दिउँसो १२ः३० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिकानगर योगिकुटीको आफैले बनाउनु भएको घरमा परिवारको बिच ९२ बर्षको उमेरमा शान्तिपुर्बक देहत्याग गर्नुभयो । उहाँ बिस १९८६ साल असौज महिना ३ गते बुधबार गण्डकी प्रदेश पर्बत जिल्ला महाशिला गाउँ बिकास समिति वडा नम्बर ६ मणिगाउँ दादरामा बाबा सुबेदारमेजर जीतबहादुर गुरुङ र आमा नौली गुरुङको जेठो सन्तानका रुपमा जन्मिनु भएको थियो ।
उहाँले देहरादुनबाट म्याट्रीक र त्रिभुवन विश्व बिध्यालयबाट आईए गर्नु भएको थियो । त्यसपछि समाजिक क्षेत्रमा होमिनु भयो । उहाँले गुरुङ समाजमा भएको रुढीबादि, कुरितिहरु हटाई गुरुङहरुको सामाजिक, साँस्कृतिक, शैक्षिक तथा धार्मिक बिकासमा सर्बाङ्गीण बिकासको लागि शुरु गर्नु भएको अभियानमा जिवनपरयन्त अनवरत लागिरहनु भयो । संगसंगै शिक्षाबाट बञ्चित त्यस ईलाकामा स्कुल खोल्न अग्रणी भुमिका खेल्नुभयो । उहाँले खोल्नुभएको त्यो स्कुल असंख्यक बिद्यर्थीलाई शिक्षाको ज्योति दिंदै अहिले घन्टे उच्चमाद्यमिक बिद्यालयको रुपमा त्यस भेगका बिद्यार्थीलाई आधुनिक शिक्षा दिन्दै आईरहेको छ । अन्तिम समयसम्म आर्थिक सहयोग गरिरहनु भयो । एक बर्ष अघिमात्र आफु र आफ्ना छोराछोरीबाट ११ लाख रुपियाँ संकलन गरि स्कुललाई हस्तन्तरण गर्नुभयो । योशैक्षिक अभियान जिवनपर्यन्तसम्म गररहनु भयो ।
१५ सालको आमचुनावमा उम्मेदवार भएर राजनिति शुरु गर्नुभयो । प्रशानिक तर्फ नेपालमा भुमि सुधार कार्यक्रम शुरु भएपछि बाग्लुङ जिल्लाको भुमिसुधार अधिकारी भएर सेवा गर्नुभयो । राजनैतिक क्षेत्रमा पञ्चायतकालिन बर्गिय संगठन भुतपुर्ब सैनिक केन्द्रिय सभापतिमा निर्वाचित भई सेवा गर्नुभयो । तत्कलिन संबैधानिक ब्यबस्था अनुसार बर्गिय संगठनको केन्द्रिय सभापतिहरु राजसभाको पदेन सदस्य हुने प्रचलन अनुसार राजाबाट सम्मानीय राजसभाको सदस्यमा नियुक्त हुनुभयो । जिवनपर्यन्त राजनितिमा सक्रिय भएपनि उहाँ सामाजिक शैक्षिक साँस्कृतिक, साहित्यिक र धार्मिक क्षेत्रमा बडी आबद्ध हुनुभयो । यि बिभिन्न क्षेत्रमा आबद्ध संघसस्थामा सक्रिय हुनुभयो । बौद्धिक, आर्थिक अनुदान दीइरहनु भयो । अक्षयकोषहरु स्थापना गर्नुभयो । बौद्धिक सरसल्लाह दिईरहनु भयो । यि बिबिध क्षेत्रहरुसंग सम्बन्धित बिषयहरुमा निरन्तर कलम चलाई रहनुभयो । हालसम्म ३३ वटा किताब प्रकशित भैसकेका छन् । ति पुस्तकहरु निशुल्क बितरण गर्नु हुन्थ्यो । अझै ५÷६ वटा किताब प्रेसमा छ । उहाँका सबैखाले रचनामा देशप्रेम, जनप्रेम, सहअस्तित्व, सहिस्णुता जस्ता कुराहरुबाट ओपप्रोत भएको हामी पाउँछौं ।
आफ्नो जन्मथलोमा खोल्नु भएको पहिलो स्कुल घन्टे उच्चमाबि बारे माथि नै उल्लेख भैईसकेको छ ।

आफ्नो परिवारको साथमा शेरबहादुर ।

त्यसबाहेक जन्मथलोमा अन्य दुई स्कुल खोल्न र सन्चालन गर्न तन, मन र धनले सहयोग दिदै आउनु भएको छ । एउटा डाँडाकटेरी गाउँमा स्थित मदनआश्रित माबिलाई माबि बनाउन र भौतिक संरचना निर्माणको निम्ति आफ्नो १५ रोपनी जग्गा, पानीको मुल भएको र आफैले खोलेको मोटरबाटो भएको जग्गा निशुल्क राजिनामा गरि दिनुभयो । त्यस जग्गामा भौतिक संरचना निर्माणको लागि सरकारी सहयोग जुटाउन २०७८ बैशाक १ गते नेपाल सरकारले प्रदान गरेको जनसेवाश्री पंचम आभुसंण सम्मानीय राष्ट्रपतिज्युबाट लिन काठमान्डौ जानुहुँदा राष्ट्रपतिज्यु र प्रधानमन्त्रिज्युलाई भेट्न प्रयत्नरत हुनुहुन्थ्यो तर कोभिडको दोश्रो लहर फैलिएसंगै पछि सारिएको थियो । यसरी जिवनको आखिरी सम्म प्रयत्नशिल रहुनुभयो । यो त एउटा उदाहरणमात्रै हो । यसरी नै जन्मथलोको फलामखानीमा फलाम खानी निम्न माध्यमिक बिद्यालय खोल्न र सन्चाल्न गर्न बौद्धिक आर्थिक सहयोग दिईरहनु भयो । यो स्कुल दलित बिद्यार्थीहरुको बाहुल्य रहेको स्कुल हो । उहाँको जन्मभुमी प्रति प्रेम कतिसम्म छ भने गत महाशिवरात्रिका दिन २०७७ साल फागुन २७ गते देखि फागुन ३० गतेसम्म जेठा छोरा नारायण र नारायणका छोरा जेठा नाति अन्वेष चीनबाट बिदामा आएको मौका पारी तिन पुस्ता जेठाहरु पहाड घरमा बितायौ । यस मौकामा पनि स्कुलहरु नै हाम्रा प्राथमिकतामा परे । थवकी दुई, तिन हप्ता अघि मात्र उहाँ पहाड घरमा तिन महिना बसि पुरानो घरहरुको मर्मत सम्भार गरि बुटवल घरफर्किनु भएको थियो ।
स्कुल खोल्ने काम बुटवलमा बसाई सरेपछि पनि निरन्तरता दिनुभयो । हाल सम्पुर्ण नेपाल भरिकै सार्बजनिक बिद्यालयहरुमा सर्ब श्रेष्ठ स्थानमा पर्न सफल भएको कालिका मानवज्ञान उच्च माध्यमिक बिद्यालय उहाँका बाबा हाम्रा श्रद्धेय स्वर्गीय बाजे श्री सुबेदारमेजर जितबहादुर गुरुङको नेतृत्वमा हाम्रा बाबासमेतको संग्नतामा स्थापना गरिएको स्कुल माध्यमिक बिद्यालय भएपछि ६ बर्षसम्म सञ्चालक समितिको अध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यस्तै तिलोत्तमा नगरपालिका योगिकुटीको जनजाग्रिती बिद्यालय र डिङगरकुवामा रहेको जनज्योती माध्यमिक बिदालयको स्थापनादेखि हालैसम्म त्यसको बिकासमा सक्रिय भईरहनु भएको थियो । गत बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) महामारीको बेला जनस्वास्थ्यलाई ध्यानमा राखि लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र नेपाल सरकारलाई १÷१ लाख रुपैंया गरी तीन लाख रुपैंया कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि प्रदान गर्नुभएको थियो । ९२ वर्षको उमरेमा पनि स्वस्थ र तन्दुरुस्त उहाँ तरुणजस्तै फूर्तिलो हुनुहुन्थ्यो । उहाको यो उमेर अवस्था देखेर चिनेजानेका सबै आश्चर्यचकित हुन्थे । यो उमेरमा पनि उहाँको कृयाशिलताका कारण अझै ८/१० वर्ष बाँच्नुहुन्छ भन्ने सजिलै अनुमान गर्न सकिन्थ्यो ।
काठमाडौबाट करिब एक महिना जेठो छोराको घरमा बसेर २०७८ साल बैशाख १४ गते मंगलबार बुटवल घर फर्किनु भएको थियो । यात्रा थकावटका कारण बैशाख १६ बिसन्चो हुनुभएकोमा स्वास्थ्य परीक्षणबाट निमोनिया देखिएपछि थप उपचार भईरहेको थियो । थप उपचारको लागि काठमाण्डौ लैजाने प्रयास गरिएपनि अस्पतालमा वेडको अभावमा लैजान पाईएन । यसैबिचमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भयो । चिकित्सकको सल्लाह अनुसार घरमै स्वास्थ्यकर्मी राखेर अक्सिजनको सपोर्टमा उपचार भईरहेको थियो । उहाँले देहत्याग गर्नुभन्दा तीन दिन अगाडि नै कोरोना भाइरस संक्रमणको नेगेटिभ रिपोर्ट आएको थियो । त्यसबिचमा स्वास्थ्यमा पनि सुधार देखिएकोले हामी खुसी भएका थियो । त्यो खुसी धेरै रहन भने सकने । मृत्यु हुनुभन्दा अगाडि स्वासप्रस्वासमा समस्या आयो । बुटवलको सिद्धबाबा हस्पिटलको आईसीयुमा भर्ना गरियो । स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकहरुले भेन्टिलेटरमा राखेर उपचार गर्न सुझाव दिएका थिए । तर बाबाले मान्नुभएन । बाबाको आग्रह अनुसार हामीले त्यसैदिन घरमा ल्यायौं । घरमा ल्याएको भोलीपल्ट बाबाले देहत्याग गर्नुभयो ।
पिसिआर नेगेटिभ आएको कारण उहाँको अन्तेष्ठी गुरुङ समाजमा चलिआएको परम्परागत बौध धार्मिक संस्कार अनुसार महामारिलाई द्रिस्टिगत गर्दै र सबै प्रोटोकल अनुशरण गरेर लामा धर्मगुरुहरु, सिमित परिवारजन र नातागोताहरुबाट बुटवलमा भएको गुरुङडाँडा (चिहान)मा २०७८ जेठ ६ दिउसो भयो । उहाँको भौतिक शरीर हाम्रो बिच रहेन । चिरशान्तिको लागि हार्दिक श्रद्धाञ्जली चढाउछौं । अब उहाँले देखाउनु भएको बाटो हाम्रो मार्ग दर्शनको रुपमा रहिरहने छ ।
उहाँको पितृकार्य अर्घुं तिथिअनुसार २०७८ जेठ १८ गते मंगलबार बुटवलको घरमा दुई थरि धर्मगुरुहरु बौद्धलामा धर्मगुरुहरु र गुरुङहरुको परम्परागत धर्मगुरु (पुरेत) पचुहरुद्वारा शुरु गरि २०७८ साल जेठ १९ गते बुधबार समापन गरिने भएको छ । हाम्रो यस दुःखद घडिमा महामारीको संकट बिच पनि सहयोग गर्नु हुने सबैलाई र फोन मार्फत र घरमा आउनु भई बाबालाई श्रद्धाञ्जली अर्पण गर्ने तथा हामीलाई समवेदना दिनुहुने सबैप्रति आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।
धन्यवाद ।
भवतु सर्व मंगलम् ।।
शेरबहादुर गुरुङको सम्पूर्ण सन्तानहरुको तर्फबाट ।