लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफू संविधानको दायरामा रहेरको बताउनु भएको छ । शनिबार बुटवलमा आयोजना गरिएको रिपोटर्स क्लवको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘म कुनैपनि पार्टीको सदस्य छैन, न सत्ता पक्षको न प्रतिपक्षको, संविधान अनुसार काम गर्छु ।’
उहाँले समस्याको समाधान सहकार्य, संवाद र सहमतिबाट हुने बताउँदै सत्ता पक्ष र प्रतिपक्षलाई समेत सहमति र सहकार्यबाट अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले त्यसो हुन सकेन भने संवैधानिक व्यबस्था अनुसार नै हुने बताउनु भयो ।
कार्यक्रममा रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाले पत्रकारले जे छ त्यहि लेख्नुपर्ने बताउँदै मुलुकको राजनीतिक घटनाक्रमले लज्जाबोध गराएको बताउनु भयो । त्यस्तै लुम्बिनीका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बिकास निर्माणको सवालमा लुम्बिनी प्रदेश उत्कृष्ट रहेको दावी गर्नुभयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकारका गतिबिधिले सांसद हुँ भनेर परिचय दिन पनि लाज लाग्ने स्थिती भएको बताउनु भयो । उहाँले मुख्यमन्त्रीकै सहभागितामा सांसदलाई अपहरण गर्ने र बन्धक बनाएर राखेको खटनाले सिंगो प्रदेशको शिर निहुरिएको बताउनु भयो ।
त्यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले प्रदेशको राजनीतिक हलचलले लोकतन्त्रकै उपहास गरेको टिप्पणी गर्नुभयो । रिपोटर्स क्लव लुम्बिनी प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाई लगायतले भनाई राख्नुभएको थियो ।