शिक्षामा बालबालिकाको पहुँच बढाउनको लागि रोटरी क्लव अफ बुटवल साउथले विपन्न परिवारका बालबालिकालाई रेडियो प्रदान गरेको छ । रोटरी क्लव अफ बुटवल साउथ, राट्रयाक्ट क्लव अफ तिनाउ सिटी, लियो क्लव अफ भलवारी सिटी र रिड नेपालको सहकार्यमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ मा रहेको सेमराबजार माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका सय जना बिद्यार्थीलाई रेडियो प्रदान गरिएको हो ।
क्लवले शुक्रबार बिद्यालयमा पुगेर रेडियो हस्तान्तरण गरेको हो । त्यस अवसरमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बालबालिकालाई क्लवले दिएको रेडियो हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेयर घिमिरेले कोरोना महामारीका कारण भौतिक रुपमा बिद्यार्थीलाई सहभागि गराएर पठनपाठन गराउन नसकिएको बेला शिक्षाको लागि रेडियो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अहिले पनि केही बिद्यालयले बिद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर पठनपाठन गराएको सूचना आएको बताउँदै त्यस्तो काम नगर्न आग्रह गर्नुभयो । नगरपालिकाले अब बिद्यालयमा अनुगमन गर्ने र त्यस्तो पाईए सोही अनुसार कारवाही हुने चेतावनी दिनुभयो । बिद्यार्थीलाई भौतिक रुपमा पठनपाठन गराउन नसक्दा बिद्यार्थी र अभिभावक पनि अन्यौलमा परेको बताउँदै उहाँले बालबालिकालाई बैकल्पिक माध्यमबाट भएको पठनपाठनमा सहभागि गराउन आग्रह गर्नुभयो ।
कोरोना भाईरस संक्रमणको कारण भौतिक रुपमा बिद्यालय सञ्चालन हुन नसक्दा वैकल्पिक विधिमा समेत सहभागि हुन नसक्ने बिद्यार्थीलाई लक्षित गरेर रेडियो प्रदान गरिएको रोटरी क्लव अफ बटुवल साउथका अध्यक्ष ध्रुव धितालले बताउनु भयो । उहाँले यसले बिद्यार्थीको वैकल्पिक पठनपाठनलाई सहयोग पुग्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तैगरी बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष गणेश भण्डारीले कोरोना महामारीमा बिद्यालय बन्द हुँदा बिद्यालयले सञ्चालन गर्ने वैकल्पिक विधिबाट हुने पठनपाठनमा सहभागि हुन नसक्ने बिद्यार्थीलाई रेडियो प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न नगरपालिकासंग आग्रह गर्नुभयो ।
कार्यक्रमका संयोजक क्लवका पूर्व अध्यक्ष तारानाथ कंडेल, पूर्व अध्यक्ष नेत्रप्रसाद पाठक लगायतले भनाई राख्नुभएको थियो । क्लवले उक्त बिद्यालयमा ह्याप्पी स्कुल कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तरगत बिभिन्न समयमा आवश्यक सहयोग गर्दै आएको क्लवका सचिव निशानबाबु कार्कीले बताउनु भयो ।कम्प्युटर तथा विज्ञान प्रयोगशाला उद्घाटन
त्यसै अवसरमा बिद्यालयमा स्थापना गरिएको कम्प्युटर तथा बिज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ । बिद्यालयले स्थापना गरेको कम्प्युटर तथा बिज्ञान प्रयोगशालाको नगरपालिकाका मेयर घिमिरेले उद्घाटन गर्नुभएको हो । बिद्यालयको आन्तरिक स्रोत र सहयोगबाट कम्प्युटर र बिज्ञान प्रयोगशाला स्थापना गरिएको जानकारी गराउँदै बिद्यालयका प्रधानाध्यापक खेमराज पाण्डेले यसले बिद्यार्थीको अतिरिक्त सिकाईमा सहयोग पुग्ने बताउनु भयो ।