जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिद्यालय सञ्चालन गर्ने नगर्ने विषयमा स्थानीय तहसंग राय मागेको छ । लामो समयदेखि बन्द रहेका बिद्यालय सञ्चालन गर्ने विषयमा कोरोना संक्रमणको अवस्था के कस्तो छ ? बिद्यालय सञ्चालन गर्न सकिन्छ या सकिँदैन भन्ने बिवषयमा प्रशासनले स्थानीय तहसंग राय मागरेको हो ।
कोरोना महामारीका कारण बन्द रहेका बिद्यालय सञ्चालन गर्न मिल्ने नमिल्ने अवस्था के छ अध्ययन गरेर सिफारिस गर्न जिल्लाका स्थानीय तहलाई प्रशासनले आग्रह गरेको हो । आज (मंगलबार) जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई यथावत राख्दै १५ दिनभित्र सिफारिस गर्न आग्रह गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी गराउनु भयो ।
‘निर्देशिका अनुसार कोरोनाको जोखिमको अध्ययन विश्लेषण गरेर बिद्यालय सञ्चालन गर्न सकिन्छ, सकिन्न ? उहाँहरु (स्थानीय तह)ले सिफासि गर्नुहुनेछ, त्यसैको आधारमा प्रशासनले निर्णय गर्नेछ ।’ उहाँले भन्नुभयो ।
कोरोना महामारीको संक्रमण तिब्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देही गत बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । जारी निषेधाज्ञालाई अहिलेसम्म संशोधन सहित थप गर्दै आएको छ । सुरुवाती समयमा पूर्ण बन्द गरिएको निषेधाज्ञा बिचबिचमा संशोधन गर्दै अहिले बजार तथा यातायात सञ्चालनमा छन् भने बिद्यालय पूर्ण रुपमा बन्द छ ।
मंगलबार बसेको बैठकमा गत बैशाखदेखि बन्द रहेका बिद्यालय सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा अझैपनि बिद्यालय सञ्चालन गर्ने वातावरण तयार नभईसकेको र बिद्यालयहरुलाई पनि आन्तरिक रुपमा तयार गर्न १५ दिनको समय दिईएको हो । यो १५ दिनमा त्यस्तो वातावरण तयार भयो भने असोजबाट बिद्यालय सञ्चालन गर्न सकिने निश्कर्ष सहित स्थानीय तहलाई अध्ययन र विश्लेषण गरेर सिफारिस गर्न आग्रह गरिएको हो । जारी निशेषज्ञा पनि भदौ मसान्त सम्म यथावत राख्ने निर्णय भएको छ ।