विश्वबाटै पोलियो उन्मुलनको लागि अभियान सञ्चालन गर्दै आएको रोटरीले बुटवलमा जनचेतनामुलक ¥याली प्रदर्शन गरेको छ । रुपन्देहीमा क्रियाशिल रहेका बिभिन्न १९ वटा रोटरी क्लवले आईतबार बुटवलमा जनचेतनामुलक ¥याली प्रदर्शन गरेका हुन् ।
रुपन्देहीमा क्रियाशिल रोटरी क्लव अफ बुटवल, बुटवल साउथ, तिलोत्तमा रुपन्देही, देवदह, बुटवल चौतारी, क्यापिटल बुटवल, सैनामैना, तिनाउ बुटवल, लुम्बिनी स्टार, ईक्लव अफ मेडिको फ्युजन हाईब्रिड, बुटवल दोभान, सेन्ट्रल बुटवल, मोतिपुर बुटवल, सेन्ट्रल रुपन्देही, रुपन्देही, कपिलबस्तु मिड टाउन, पाल्पा लुम्बिनी, मणिग्राम र मिड रुपन्देहीको संयुक्त आयोजनामा पोलियो बिरुद्ध जनचेतनामुलक ¥याली निकालिएको हो ।

विश्वबाटै पोलियो उन्मुलन गर्नको लागि रोटरीले सन् १९७९ अक्टोबर २४ देखि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । रोटरीले सोही मितिलाई पोलियो दिवसको रुपमा मनाउँदै आएको छ । यद्यपी सन् २०१४ फेब्रुअरी १४ मा नेपाल सहित पूर्व एसियाका ११ देशमा एकैसाथ पोलियो मुक्त घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानबाट सन् २०१० को अगस्टमा रौतहटमा पोलियोको अन्तिम संक्रमण भेटिएको थियो । त्यसयता पोलियो संक्रमण नभेटिएपछि नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरिएको हो ।

लगातार तीन वर्षसम्म पोलियो संक्रमण नदेखिएपछि नेपाल सहित पूर्वी एसियाका भारत, भुटान, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, उत्तर कोरिया, इष्ट टिमोर र थाइल्यान्ड गरि ११ देशलाई एकसाथ पोलियो मुक्त देशका रुपमा घोषणा गरिएको थियो । पोलियो उन्मुलनको लागि नेपालमा सरकारले बिभिन्न दातृ निकायको सहयोगमा बि.सं. २०५३ सालदेखि त्यस विरुद्धको अभियान सञ्चालन गरेको थियो भने त्यसयता पनि ५ वर्ष मुनिका बालकालिकालाई निरन्तर पोलियो थोपा खुवाउँदै आईएको छ ।

बुटवलको रक्तसञ्चार सेवा केन्द्रबाट सुरु भएको ¥याली अमरपथ, हाटबजार हुँदै जेसीज चोकमा पुगेर समापन भएको थियो । त्यस अवसरमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजूले पोलियो रोग उन्मुलन भएपनि जनचेतना अझै आवश्यक रहेको बताउनु भयो ।