बुटवलमा रहेको जी २५ क्लवले रक्तदान गरेको छ । सामाजिक काममा सक्रिय क्लवले बुधबार छैंठौं पटक रक्तदान गरेको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवलको देवीनगरमा सम्पन्न रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा मार्गदर्शक, संरक्षक र सुभेच्छुक समेत गरि ११० जनाले रक्तदान गरेको क्लवले जनाएको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदान जीवन दान भएको बताउनु भयो । उहाँले अझैपनि ग्रामिण क्षेत्रमा रक्तदान गर्ने परम्परा विकास हुन नसकेकाले प्रचारप्रसार अपरिहार्य रहेको बताउनु भयो । त्यस अवसरमा उहाँले जी २५ क्लवले सामाजिक क्षेत्रमा गरेका कामका प्रशंसा गर्दै अझै उदाहरणीय काम गर्न आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष निर्मल नेपालले व्यवसायिक व्यक्तिहरुको एकताबाट क्लव स्थापना गरिएको र क्लवले नितान्त सामाजिक काम गर्ने जानकारी गराउनु भयो । उहाँले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस र रक्तदानको बारेमा सामाजिक रुपमा जनचेतना अभिबृद्धिको लागि समेत निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलकी प्राविधिक राधा शर्माले रक्तदानको महत्वमाथि प्रकाश पार्दै रक्तदान गर्दा हुने फाईदा, रक्तदान गर्न नमिल्ने अवस्था लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
क्लवका उपाध्यक्ष जगदिश न्यौपानेको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव तेजेन्द्र खनालले गर्नुभएको थियो । त्यस अवसरमा क्लवका सदस्य सुनिल शाही, जगत थापाको पहलमा क्रस फायर एकेडेमीका सञ्चालक पवन शाह सहितका युवाहरुले रक्तदान गरेका थिए ।