रुपन्देहीको सियारी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु सहित जनप्रतिनीधिहरुले सोमबार पदभार ग्रहण गर्नुभएको छ । पदभारग्रहणसँगै सियारीमा ७० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजाँच तथा औषधि उपचार र सुत्केरी महिला तथा नवजात शिशुलाई तीन महिनासम्म आवश्यक खोप घरमै उपलब्ध गराउने निर्णय भएको छ ।
पदभार ग्रहण पछि बोल्दै अध्यक्ष घिमिरेले गाउँपालिकाका नागरिकलाई आवश्यक पर्ने रगतमा लाग्ने शुल्क आगामी साउन १ गतेदेखि गाउँपालिकाले व्यहोर्ने बताउनु भयो । त्यस्तै गाउँपालिकालाई आवश्यक पर्ने बाहेक अन्य ठेक्कापट्टाबाट नदिजन्य पदार्थका निकासी गर्दा मेसिनको प्रयोग निषेध गरिने बताउनु भयो ।
पदभार ग्रहण समारोहमा लुम्बिनी प्रदेशका युवा, खेलकुद तथा शिक्षा मन्त्री वरिउद्धिन खानले गाउँपालिकामा सुरु भएका राम्रा कामलाई अनुशरण गर्न र जनचाहना अनुसार नयाँ काम पहिल्याउन सुझाव दिनुभयो । उहाँले सियारीको विकासमा प्रदेश सरकार पनि साथमै हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै गाउँपालिकाका निवर्तमान अध्यक्ष अयोध्याप्रसाद थारुले सहकार्य समन्वय र सहअस्तित्वका आधारमा अघि बढ्न नवनिर्वाचित अध्यक्षलाई आग्रह गर्नुभयो ।