थारु महिला उत्थान केन्द्रले बर्दियामा सञ्चालन गरेको वालबालिकाको सपना परियोजनाले बालबालिकाको चौतर्फी विकासमा योगदान गरेको बताईएको छ । शुक्रबार बुटवलमा आयोजना गरिएको सपना परियोनाको समिक्षा र कोभिड–१९ प्रतिकार्य परियोजना समापन कार्यक्रममा सो कुरा बताईएको हो ।
यी दुबै परियोजना बालबालिका लक्षित परियोजना हुन् । बालबालिकाको सपना परियोजना प्लान ईन्टरनेशनलको आर्थिक सहयोग र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको सहकार्यमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दामा कुमारी शर्माले थारु महिला उत्थान केन्द्रले सञ्चालन गरेको सो परियोजनाबाट बालबालिकाको चौतर्फी विकासमा उल्लेखनीय योगदान गरेको बताउनु भयो । उहाँले समग्र समाजको विकासको लागि सबै क्षेत्र र समुदायलाई समेट्नुपर्ने भएपनि दाताले दिएको थोरै सहयोगमा लक्षित समुदायमा भएको काम स्रहानीय रहेको बताउनु भयो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोषनलाल चौधरीले प्रदेशका १२ जिल्लामा सञ्चालित खोप अभियानमा थारु महिला उत्थान केन्द्रसंग सहकार्य गरेको बताउदै पाईलट प्रोजेक्टको रुपमा सञ्चालन गरिएको कार्यक्रमले नतिजा पनि राम्रो दिएको बताउनु भयो ।
बालबालिकाको सपना परियोजनाका प्रोजेक्ट कोअर्डिनेटर जेनिक्षा लामाले बर्दिया जिल्लाको ३ पालिकामा काम गरेको बताउदै यी पालिकामा परियोजना सफल भएको बताउनु भयो । उहाँले कमजोर र सिमान्तकृत परिवारका लाई मुख्य प्राथमिकतामा राखेको बताउदै अन्य बालबालिकाको ६ किसिमको बिकासमा काम गरेको बताउनु भयो । बालबालिकाको शारीरिक बिकास, सम्बेगात्मक बिकास, मानसिक बिकास, सामाजिक बिकास, बौद्धिक बिकास र भाषिक बिकासमा काम गर्दै आएको उहाँले जानकारी गराउनु भयो ।
त्यस्तै कोभिड १९ प्रतिकार्य परियोजनाका प्रोजेक्ट कोर्डिनेटर आशाराम चौधरीले कोभिड बिरुद्धको खोपको बारेमा जनचेतना र स्वास्थ्य सामाग्री बितरण गरिएको बताउनु भयो । उहाँले ८ वटा पालिकामा परियोजनाले काम गरेको र जनचेतना फैलाउनको लागि सञ्चार माध्यम र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिइएको जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रदेश योजना आयोग लुम्बिनीका सदस्य डा. दामोदर भुसाल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, थारु महिला उत्थान केन्द्रकी अध्यक्ष प्रिज्मा थारु, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कृष्ण गोपाल चौधरी लगायतले सुझाव सहित भनाई राख्नुभएको थियो ।