दुर्घटनामा ज्यान गुमाएका चालक यज्ञ वलीको छोराको उपचारार्थ झण्डै दुई लाख रकम जुटेको छ । १८ महिने छोरा यमन वली मुटुको समस्याको उपचारको लागि आर्थिक संकलन गरिएको हो ।
तीन पटक गरी एक लाख ९५ हजार रुपैया चालक वलीको परिवारलाई हस्तान्तरण गरिएको पल्लीकोटबाट राजु रजालीले जानकारी गराउनुभयो । दुर्घटनामा ज्यान गुमाए लगत्तै सामाजिक संजालबाट चालिएको अभियानमा रकम जुट्न सफल भएको हो । पल्लीकोटका स्थानिय देश विदेशमा रहेकाबाट रकम संकलन गरिएको रजालीले बताउनुभयो । पहिलो पटक छत्रकोट–२, पल्लीकोटका निवर्तमान वडा अध्यक्ष रुक बहादुर रास्कोटीको नेतृत्वमा गएको टोलीले एक लाख १६ हजार रुपैया चालक ओलीका वुवा देब बहादुर वलीलाई दाङ जिल्लाको शान्तिनगर गाउंपालिका वडा नं. १ खिलतपुरमा पुगेर हस्तान्तरण गरेको थियो ।
त्यसैगरी राज भण्डारीको पहलमा संकलन गरिएको २९ हजार पनि दाङ पठाइएको हो । पल्लीकोट स्थायी घर भई हाल दक्षिण कोरियामा रोजगारी संगै नेपाली जनसम्पर्क समिति र गुल्मी सम्पर्क समितिमा आवद्ध रहि सामाजिक क्रियाकलापमा सक्रिय समिर बलालको पहलमा ५० हजार रुपैया पठाइएको रजालीले बताउनुभयो । एक दशक भन्दा बढी समय गुल्मीको पल्लीकोटको विकास निर्माणमा सक्रिय रहेका चालक वलीको गुल्मीको छत्रकोट–२, पल्लीकोटको रातापानीमा डोजर पल्टिएर निधन भएको थियो ।