ज्ञानज्योती आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा

1.3K

ज्ञानज्योती आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनले सुद्धोदन गाउँपालिका वडा नं. ४ मा रहेको ज्ञानज्योती आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा (स्वीटर) प्रदान गरेको छ ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही तथा फर्साटिकर युवा क्लव सहयोगमा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदन र सुद्धोधन जेसीजले ज्ञानज्योती आधारभूत विद्यालयमा अध्ययन गर्ने १४६ जना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको हो ।
सुद्धोदन गाउँपालिका वडा नं. ४ मा रहेको उक्त ज्ञानज्योती आधारभूत विद्यालयमा कक्षा ७ सम्म पठनपाठन हुँदै आएको छ । निम्नवर्गीय र अधिकांश थारु समुदायका बालबालिकाले अध्ययन गर्ने गरेको र उनीहरुको आवश्यकताको आधारमा न्यानो कपडा वितरण गरिएको रोट्रयाक्ट क्लव अफ सुद्धोदनका अध्यक्ष रमेश गौतमले बताउनु भयो । उहाँले विद्यालयले आफूहरुलाई आग्रह गरे अनुसार सहयोग जुटाएर प्रदान गरिएको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका पूर्व अध्यक्ष तथा सुद्धोदन जेसीजका संस्थापक अध्यक्ष रमेश खनालले विद्यालयमा अध्ययनको लागि आउने बालबालिकाको आवश्यकताको आधारमा सहयोगी हात बनेर रोट्रयाक्ट तथा जेसीजले राम्रो काम गरेको भनाई राख्नु भयो । उहाँले ती संस्थालाई आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न आग्रह गर्दै आफ्नो तर्फबाट पनि पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आफ्नो भगिनी क्लवले गरेको रचनात्मक काममा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले क्लवको सिग्नेचर प्रोजेक्ट अन्तरत यस अगाडि नै यसै विद्यालयमा रंगरोगन समेत गरिएको जानकारी गराउनु भयो । उक्त क्लवले सिग्नेचर प्रोजेक्ट अन्तरगत प्रत्येक वर्ष होलीको अवसरमा एउटा सामुदायिक विद्यालयमा विद्यालय रंगरोगन कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द्र चौधरी, प्रधानाध्यापक गीता पाण्डेले आफुहरुको आग्रहमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको खुसी व्यक्त गर्नुभयो । उहाँहरुले आगामी दिनमा पनि यस्तै सहयोग पाईरहने अपेक्षा समेत राख्नुभयो ।