राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशले उत्कृष्टता हासिल गरेको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको सदस्य सचिवमा जयप्रकाश भट्टराईको नियुक्तिसँगै खेलकुदको क्षेत्रमा उत्साहजनक नतिजा आउन सुरु भएको हो । पछिल्लो पटक वागमती प्रदेशको आयोजनामा चितवनमा हालै सम्पन्न तेस्रो जुनियर (२० वर्ष मुनी) राष्ट्रिय एथेलेटिक्स प्रतियोगिता २०७९ मा ११ स्वर्ण, ५ रतज र ५ काश्य गरी २१ पदक सहित लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । त्यस अगाडि सुदुरपश्चिम राजधानी कप फूटवल प्रतियोगितामा पनि लुम्बिनी प्रथम भएको थियो । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि लुम्बिनी प्रथम भएको थियो । नवौं राष्ट्रिय खेदकुद प्रतियोगितामा विधागत ६८ र व्यक्तिगत खेलमा १३२ पदक प्राप्त गरेको थियो । त्यस्तै नेपाल भलिवल एशोसियसनको एनविए कपमा टप सिक्समा क्वालिफाईड भएको थियो, लुम्बिनी । काठमाण्डौमा सम्पन्न अण्डर १८ राष्ट्रिय भलिवल प्रतियोगितामा लुम्बिनी द्वितीय भएको थियो ।
त्यस्तै भारतको पुनेमा सम्पन्न नेशनल कराँते एण्ड किकबाक्सिङ च्याम्पियनशिपमा ११ गोल्ड र १ शिल्भर सहित लुम्बिनी प्रदेश नेपाल द्वितीय हुन सफल भएको थियो । यी प्रतिनीधिमुलक प्रतियोगिता हुन् । यस बाहेक स्टेन्थ लिफ्टििङ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा लुम्बिनी प्रदेशले उत्कृष्ट प्रदर्शन गरेको छ । यसै सन्दर्भमा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईसंग लुम्बिनी अनलाईनले गरेको कुराकानीको सम्पादित अंश ।
खेलकुदको क्षेत्रमा लुम्बिनी प्रदेशले राम्रो प्रफमेन्स देखाएको छ । यसमा तपाईले कस्तो महशुस गर्नु भएको छ ?
धन्यवाद । राम्रो रिजल्ट आउँदा खुसी लाग्नु स्वाभाविक हो । तर यत्तिले मात्रै पुग्दैन । यो भन्दा अझै धेरै राम्रो गर्न सकिने यसका अवसरका क्षेत्रहरु अझै धेरै छन् । भोलीका दिनमा यो भन्दा धेरै राम्रो गर्नुपर्छ । त्यसको लागि आजको नतिजा एउटा आधारशिलाको रुपमा लिईएको छ ।
लुम्बिनी प्रदेशले तुलनात्मक रुपमा धेरै सफलता हात पारेको छ । यसको लागि कुनै रणनीतिक योजना बनाउनु भएको थियो ?
कुनैपनि काम गर्नु पूर्व त्यसको योजना बनाउनु पर्छ नै । सहि योजना बनाईयो भने मात्रै उपलब्धि हासिल गर्न सकिन्छ । र यसको योजना बनाएर नै हामीले काम गरेका थियौं । अघिल्लो वर्ष छोटो समयमा एउटा राम्रो टिम फर्मेसन गर्यो । तत् पश्चात हामीले विज्ञ साथीहरुसँग बसेर यसका योजनाहरु निर्माण गर्ने र अगाडि बढाएका थियौं । हामीले सोही योजना अनुसार नै काम गरेका थियौं । जसले आज सानो भएपनि उपलब्धि हासिल भएको छ ।
‘राष्ट्रको लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने नारा पनि छ । खेलकुद क्षेत्रको विकासको लागि संघ, प्रदेश र स्थानीय सरकार विचको रणनीतिक सम्बन्ध कस्तो पाउनु भएको छ ? र काम गर्न कत्तिको सहज छ ?
यसमा संघ, प्रदेश र स्थानीय सरकार विचमा जुन प्रकारको रणनीतिक सम्बन्ध हुनुपर्ने हो, त्यो अनुसारको सम्बन्ध भएको त म पाएको छैन । यसमा संघ, प्रदेश र स्थानीय तहको खेल क्यालेण्डर बनाउँदा, खेल नीति बनाउँदा सामन्जस्यता छैन । र यसले गर्दाखेरी धेरै काम गर्न समस्या पनि भएको छ । स्थानीय तहले प्रदेशमा समन्वय नगर्ने, संघले प्रदेशमा समन्वय नगर्ने र प्रदेशले पनि त्यो खालको समन्वय नगर्ने खालको अवस्था भयो भने सहि रिजल्ट आउन पनि सक्दैन । किनभने स्थानीय तहको खेलाडी जिल्ला हुँदैं प्रदेशमा र प्रदेश हुँदै संघमा जाने हुँदा त्यो खालको तारतम्य मिलाउनको लागि धेरै प्रयासहरु भएपनि खास सफलता पाउन सकिएको छैन । काम गर्ने शिलशिलामा त्यस्तो गाह्रो त छैन । तर संरचनागत समन्वयको अभाव तथा नीतिगत समस्याले गर्दा केही असजिलो भएको छ । प्रदेश संरचना बनिसकेपछि प्रदेशका खेल गतिबिधिहरुलाई अगाडि बढाउनको लागि त्यही खालको मेकानिजम बन्नु पर्ने हो । हामीले प्रदेशका १२ वटै जिल्लामा खेलकुदका संरचना बनायौं । तर त्यहाँ भएका कर्मचारी र भौतिक संरचना प्रदेश अन्तरगत आईसकेका छैनन् । कर्मचारी समायोजन भएको छैन । संघको कर्मचारी संघप्रति उत्तरदायी छन् । प्रदेशमा आफ्नै कर्मचारी राखिएको छैन । प्रदेश खेलकुद विकास ऐनमा के प्रावधान छ भने प्रदेश भित्र बन्ने रंगशालादेखि सम्पूर्ण खेल संरचनालाई नियमन गर्ने, निर्माण गर्ने, अनुगमन गर्ने, निर्देशन गर्ने सम्मको व्यवस्था छ । तर त्यति हुँदाहुँदै पनि त्यसको लागि आवश्यक पर्ने जनशक्ति (जस्तै ईञ्जिनीयर, कानुन अधिकृत लगायतका आवश्यक जनशक्ति) लगायतका मेकानिजम पूर्ण रुपमा व्यवस्थापन हुन सकिरहेको छैन । यसले गर्दा कैयौं प्राविधिक कामहरु हामीहरुले गर्न सकिरहेका छैनौं । अर्को संरचनागत हिसावले पनि संघ अन्तरगत रहेका भौतिक संरचनाहरु वर्गिकरण गरेर संघ तथा प्रदेश मातहतका हुन छुट्याईएको छैन । यस्ता कुराले काम गर्नका लागि धेरै समस्या भएको छ ।
खेलकुदका कार्यक्रममा उद्घाटन तथा समापन तामझामका साथ गर्ने, तर खेलाडिको क्षमता विकासमा खासै ध्यान दिईएको देखिँदैन । यसमा तपाईको भनाई के हो ?
यो सारै महत्वपूर्ण प्रश्न उठाउन भयो । यो कुरा मेरो मनमा पनि विजिरहेको छ । यसमा पछिल्लो समय हामीले धेरै स्थानीय पालिका र जिल्लाहरुलाई इम्पावर गरिरहेका छौं । उहाँहरुलाई गाईडलाईन पनि दिईरहेका छौं । सहयोग पनि गरिरहेका छौं । हाम्रो सिमित स्रोत साधनमा पनि हामीले उच्चतम रुपमा यसलाई परिचालन गरेका छौं । तर यति हुँदा हुँदै पनि कतिपय पालिका तथा जिल्लाहरुले जुन फोकस खेलाडिमा गर्नुपर्ने थियो । ग्रासउड लेवलमा सपोर्टको ईफिसियन्सी बढाउनको लागि काम गर्नुपर्ने थियो । उद्घाटन समापन कार्यक्रमहरु भव्य गर्ने तर खेलाडिलाई नियमित हुनुपर्ने प्रशिक्षण तथा तालिम कार्यक्रम नभएको देखिन्छ । कतिपय पालिकाले प्रशिक्षणको पनि व्यवस्था गरेका छन् । विद्यालयले खेल शिक्षक राखेका छन् । ती पालिका तथा विद्यालयहरुलाई म धन्यवाद दिन चाहन्छु । कतिपयले एउटा कर्मकाण्डी रुपमा एकैचोटी राष्ट्रपति रनिङ शिल्ड आयो अथवा मुख्यमन्त्री कप जस्ता कुनै ईभेन्ट आयो भने तामझाम भव्य रुपमा गर्ने तर खेलाडिलाई वर्षभरी हुनुपर्ने प्रशिक्षण तथा तालिम लगायतका कुरामा कुनै ध्यान नदिने गरेको देखिन्छ । यो एकदमै नराम्रो काम हो । उद्घाटन समापनका कार्यक्रम सामान्य गर्दा पनि हुन्छ । तर खेलागिको विकासमा विशेष ध्यान दिन आवश्यक छ । कार्यक्तमलाई तामझामका रुपमा भव्य गर्ने भन्दा पनि ग्रासउडमा काम गर्नुपर्छ । कुनै पनि विरुवा हुर्काउनको लागि पातमा भन्दा पनि जरामा मल, पानी हाल्नु हाल्नु पर्दछ । जरामा पानी हाल्नको लागि हाम्रो अनुरोध छ ।

प्रदेश स्तरीय खेलकुद संरचनाको लागि प्रदेश सरकारको कार्यक्रम कस्तो छ ?
लुम्बिनी प्रदेश सरकारले गौरवकै योजनाको रुपमा दुई वटा रंगशाला अगाडि सारेको छ । सरकारले दाङमा ‘नेत्रलाल अभागी रंगशाला’ र रुपन्देहीको बुटवलमा ‘उजिरसिंह रंगशाला’ अगाडि बढाएको छ । दुबै रंगशालालाई बजेट विनियोजन पनि भएको छ । नेत्रलाल अभागी रंगशालाको लागि स्वीकृति प्राप्त भई काम अगाडि बढ्ने क्रममा छ । टेण्डर आह्वानको प्रकृया अगाडि बढेको छ भन्ने सुनेको छु । ऐनमा व्यवस्था भएको त्यसलाई बनाउने, संरक्षण गर्ने, नियमन तथा अनुगमन गर्ने भन्ने प्रदेश खेलकुद परिषदको जिम्मेवारी भन्दा बाहिर गएर प्राधिकरणमा पैसा दिईएको छ । ऐनमा व्यवस्था भए अनुसारको हामीसंग कुनै समन्वय भएको छैन । यो दुःखद कुरा हो । खेलकुदका संरचना बनाउदा खेलका संस्थाहरुलाई, खेल सम्वद्ध निकायलाई, खेलकुदकै क्षेत्रमा काम गर्ने भनेर स्थापित यो परिषदलाई नजरअन्दाज गर्ने राम्रो कुरा होईन । त्यसबाट सहि खालको संरचना नबन्न पनि सक्छ । र अर्को उजुरसिंह रंगशालाको लागि हामीले धेरै पटक मन्त्रालयमा पनि अनुरोध गर्यौं, मुख्यमन्त्री ज्यू र सरोकारवालसंग पनि धेरै पटक छलफल गर्यौं । यो अगाडि बढ्ने क्रममा छ । यसलाई क्याविनेटमा लैजाने गरी तयारी भईरहेको छ । प्रदेश योजना आयोगले पनि यसलाई स्वीकृति प्रदान गरिसकेको छ । संगसँगै जुन १५ प्रतिशत बजेट सुनिश्चितता गर्नु पर्ने हो, त्यो बजेट पनि सूचित भएको छ । यस बाहेक पनि धेरै फूटकर संरचनाहरु अगाडि बढाएको छ र अर्को एउटा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी बनाउने नीति कार्यक्रममा थियो । त्यस्तै भलिवल कवर्ड हल, कस्ती अखडा रुपन्देहीमा बनाउने कुरा थियो । तर पछिल्लो समयमा परिषदलाई जानकारी नै नगराई बजेट कटौती भयो भन्ने सुन्नमा आएको छ । यसबाहेक पनि धेरै संरचना बनेका छन् । कतिपय संरचना बनाउँदा समन्वयको कमीले सहि तरिकाले बनेका छैनन् । कतिपय नेता तथा मन्त्री विशेषको अनुरोधमा बनेका छन् । त्यसले गर्दा आवश्यक ठाउँमा अपुग हुने र आवश्यक नभएका ठाउँमा बढी गएको छ ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
वास्तवमा प्रदेश खेलकुद परिषद लुम्बिनीले तिब्र ईच्छाका साथ काम गर्ने गरी अगाडि बढेको छ । यसको लागि सबैको साथ र सहयोगको हामीले अपेक्षा गरेका छौं । यो समयमा लुम्बिनी प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय पालिकाहरुमा म के अनुरोध गर्न चाहन्छु भने यहाँहरुले कम्तिमा पनि एउटा बार्षिक क्यालेण्डर बनाउँदै पनि खेलकुदको क्यालेण्डर पनि बनाएर त्यसलाई सहि तरिकाले कार्यान्वयन गर्न र विद्यालयहरुलाई पनि नीतिगत रुपमै त्यसभित्र बाँधेर खेलकुदका गतिविधिहरुलाई अतिरिक्त क्रियाकलापका रुपमा नभई अनिवार्य क्रियाकलापका रुपमा अगाडि बढाउनको लागि म अनुरोध गर्दछु । यसबाट पनि त्यो विद्यालय, त्यो नगर, त्यो जिल्ला हुँदै समग्र प्रदेशलाई खेलकुदमा अगाडि बढाउनको लागि व्यवसायिक रुपमा पनि खेललाई विकास गर्न सक्छौं । र सबै सरोकारवाला पक्षलाई यो क्षेत्रमा सहयोग गर्न अनुरोध गर्न चाहन्छु ।