राष्ट्रिय परीक्षा बोर्डले लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि हुँदैछ । परीक्षाको सबै तयारी पुरा भएको बोर्डले जनाएको छ ।
यो वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । त्यसमध्ये २ लाख ६० हजार ६७४ जना छात्र र २ लाख ५५ हजार ९१७ जना छात्रा छन् । परीक्षाको लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाईसकिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यस्तैगरी यो वर्ष जापानबाट पनि १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुँदैछन् । जापान सरकारको स्वीकृति लिएर नेपाली पाठ्यक्रम पढाएका विद्यालयमा अध्ययन गरेका वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरी एसईई परीक्षामा सहभागि हुन लागेका हुन् ।