लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक दिन ढिला गरी मंगलबारदेखि शुरु भएको छ । प्रदेश सरकारले रोकेको बजेट ढिलोगरी निकाशा भएपछि प्रतियोगिता पनि निर्धारित मिति भन्दा ढिला भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले खेलकुदलाई मनोरञ्जन तथा स्वास्थ्यमा मात्रै सिमित राख्न नहुने बताउनु भयो । उहाँले युवालाई अनुशासित बनाउन र विकासमा जोड्नको लागि खेलकुद महत्वपूर्ण हुने बताउँदै खेलका माध्यमबाट राष्ट्रको पहिचान माथि उठाउन सकिने भनाई राख्नुभयो ।
प्रतियोगिताको बारेमा जानकारी गराउँदै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले रुपन्देहीको बुटवलमा भोलीसम्म चल्ने प्रतियोगितामा प्रदेशका १२ जिल्लाबाट १ हजार ८० खेलाडी र १५० अफिसियल सहभागि रहेको बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, चन्द्रकेश (सिके) गुप्ता, कोशिश खड्काले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
पहिलो दिन आज भएको प्रतियोगितामा तेक्वान्दो तर्फ रुपन्देही र दाङले दुई दुई तथा नवलपरासी र बाँकेले एक एक स्वर्ण पाएका छन् । त्यस्तै एथेलेटिक्समा बाँकेले ४, दाङले ३, कपिलबस्तुले ३ र बर्दियाले २ स्वर्ण प्राप्त गरेका छन् ।